कश्मिर हमलाबारे दिएको प्रतिक्रियाका कारण कपिल शर्मा शोबाट निकालिए सिद्धू, आखिर उनले कस्तो प्रतिक्रिया दिएका थिए ? (पुरा पढ्नुहोस्)


एजेन्सी, ५ फागुन । कश्मिर पुलवामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण नवजोत सिंह सिद्धूलाई ‘द कपिल शर्मा शो’ बाट निकालिएको छ ।

उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि उनलाई शोबाट निकालिएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार पन्जाबका मन्त्री समेत रहेका सिद्धूको ठाउँमा अब अर्चना पूरन सिंह आउने भएकी छन् ।

सिद्धूले पुलवामा हमलाबारे सञ्चारमाध्यममा भनेका थिए- यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो । आतंककारीको कुनै जात र धर्म हुँदैन । सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन् । सबै देशमा हुन्छन् । अति नराम्रालाई सजाय दिनुपर्छ ।

सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए । ट्विटरमा उनलाई हटाउनेबारे ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् । फ्यानहरूले सिद्धूलाई शोमा राखिरहे शो नै नहेर्ने समेत भनेका छन् ।

खबरअनुसार सिद्धू विरूद्ध दर्शकको भावनालाई च्यानलले गम्भीर रूपमा लिँदै हाल उनलाई हटाउने नै निर्णय गरेको हो। यस विषयमा सलमान खान प्रोडक्शनसँग छलफल पनि सुरू भइसकेको छ। कपिल शर्मा शो निर्माणको काम अभिनेता सलमान खानको कम्पनीले सम्हाल्दै आएको छ।

सुटिङ भइसकेका शोमा भने सिद्धू नै देखिनेछन् । त्यसपछिका शोमा उनको ठाउँ अर्चनाले लिन सक्नेछिन् । अर्चनाले दुइटा शो सुटिङ गरिसकेको पनि बताइएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म सलमान खान प्रोडक्शन र सोनी च्यानलकातर्फबाट कुनै आधिकारिक घोषणा आएको छैन । कपिल शर्माले पनि यसबारे केही बोलेका छैनन् । सिद्धूले पनि प्रतिक्रिया दिएनन् । तर सिद्धूले शो छाडेको लगभग निश्चित भएको सञ्चारमाध्यमहरूले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement