सन्दीप लामिछानेकोे टिम मेल्बर्न स्टार्स बिग ब्यास लिगको उपविजेता


काठमाडौं, ५ फागुन । नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स अस्ट्रेलियाको
बिग ब्यास लिगको उपविजेता बनेको छ ।

उपाधीको लागि मेल्बर्न रेनिगेड्ससँग भिडेका मेल्बर्न स्टार्स १३ रनले पराजित हुँदै लिगको उपविजेता बनेको हो ।

फाइनलमा सन्दीपले विकेट लिन नसके पनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानलाई केही बाँध्न मद्दत पुगेको थियो । चार ओभर बलिङ गर्ने क्रममा चार रनको औसतमा उनले १६ रन मात्र दिए । उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भएका छन् ।

टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो । रेनिगेड्सलाई सुरुवातदेखि नै रोक्ने क्रममा स्टार्सका बलरहरू एडम जाम्पा र ज्याकसन बर्डले २–२ विकेट लिए ।

रेनिगेड्सलाई उकास्नका निम्ति टम कुपर र डानियल क्रिस्टियनको भूमिका महत्वपूर्ण रह्यो । छेटौं विकेटका लागि यो जोडीले ८५ रनको अविजित साझेदारी गरेपछि टोलीले योग्य स्कोर बनायो ।

जवाफी ब्याटिङमा मेल्बर्न स्टार्स सुरुदेखि नै हावी देखियो । तर अन्तिम समयमा एकपछि अर्को खेलाडीहरू आउट भएका कारण टोलीले अनपेक्षित हार बेहोर्नुपर्यो । सेमिफाइनल र फाइनलमा भने उनले विकेट लिन सकेनन् ।

बिग ब्याश लिगको यात्रा सकिएपछि सन्दीप अब पाकिस्तान सुपर लिग खेल्न जाँदैछन् । युएईमा हुने उक्त प्रतियोगितामा उनी लाहोर कलन्दर्सका तर्फबाट खेल्नेछन् । उक्त टोलीमा दक्षिण अफ्रिकाका चर्चित खेलाडी एबी डिभिलियर्स पनि छन् । त्यसपछि उनी भारतमा सुरु हुने इन्डियन प्रिमियर लिग आइपीएल खेल्न जानेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement