सापटी लगेको पैसा लिन बोलाएर दलित महिलालाई बलात्कार गर्ने प्रहरी नायब निरीक्षक पक्राउ
मुगु, ५ फागुन । जो देश र जनताको लागि सुरक्षार्थ खटिएका छन् भनेर बिश्वास गरिन्छ उनै व्यक्तिबाट हाम्रा छोरी चेली लुटिन्छन् भने कसलाई बिश्वास गर्ने अनि को संग न्याय माग्न जाने खै ? प्रसङ्ग हो मुगुमा प्रहरी नायब निरीक्षक (सई)द्वारा एक दलित महिला बलात्कृत भएको ।
जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ साढे ६ बजेतिर पैसा लिन जाँदा सई शाहीले बलात्कार गरेको मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको स्थायी घर हुम्लाको चंखेली गाउँपालिकाको दार्मा गाउँ रहेको बताइएको छ ।
पीडितका श्रीमानका अनुसार आफू काम विशेषले घर बाहिर गएको र साझँ घरमा श्रीमती नदेखेपछि सोध्दा सालीले कसैले पैसा लिन बोलाएकोले त्यतैतिर गएको बताएकी थिइन् । तर लामोसमयसम्म पनि नआएपछि खोज्दै जाँदा चैन गाउँ जाने भीर बाटोमा आफूले श्रीमती भेटेको उनले बताए ।