सङ्घीयतामा मिडियाको स्वरुपबारे छलफल


बुटवल, ४ फागुन। सङ्घीयतामा मिडियाको स्वरुप कस्तो बनाउने भन्ने विषयमा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा छलफल शुरु भएको छ ।

नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ ले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा सञ्चार’ विषयक अन्तरक्रियामा मिडिया र सरकारबीचको सहकार्यबाट समृद्ध प्रदेशको परिकल्पना साकार हुनेमा जोड दिइएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सूचना तथा सञ्चार प्रतिष्ठान गठनका लागि ऐन बनाउने प्रक्रिया शुरु भएको उल्लेख गर्दै यसबाट सबै मिडियालाई व्यवस्थित र मर्यादित बनाउन सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले प्रादेशिक संरचनामा मिडिया विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारी मिडिया व्यावहारिक रुपमा स्वायत्त र आत्मनिर्भर नभएका कारण निर्णयमा पुग्न नसकेको टिप्पणी गर्दै प्रादेशिक नयाँ संरचनाको विकास गर्दा ट्रष्टका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य विनोद पहाडीले सरकारी मिडियालाई कसैको अधिनस्त बनाउने भन्दा पनि स्वायत्त संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घ प्रदेश नं ५ का अध्यक्ष मौसम रोकाको अध्यक्षतामा भएको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्य, राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, अकोराबका पूर्वअध्यक्ष मोहन चापागार्इं, नेपाल, प्रेस युनियनकी रुपन्देही अध्यक्ष रेखा भुसाल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, महासङ्घ प्रदेश समितिका उपाध्यक्ष भरत केसी लगायतले प्रादेशिक मिडियाको स्वरुप कस्तो बनाउने भन्ने विषयमा आ–आफ्नो राय दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement