बजेटको कारण विकास निर्माणका काम प्रभावित हुँदैन : मुख्यमन्त्री


भोजपुर, ४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेटको कारण विकास निर्माण नरोकिने बताउनुभएको छ । आज पौवादुङ्मा गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अहिले तीन तहको सरकार बनिसकेकाले सबैले सहकार्य गरेमा कुनै विकासका काम असम्भव नरहेको पनि बताउनुभयो ।

सङ्ग्रहालयको शिलान्यास

भोजपुरको पौवादुङमा गाउँपालिकामा मीरा राई सामुदायिक भवन र दुङमाली भाषा सङ्ग्रहालयको शिलान्यास गरिएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मीरा राईको सम्मानमा वडा नं ५ सानोदुङमामा निर्माण गर्न लागिएको सामुदायिक भवन र गाउँपालिका केन्द्र च्याङग्रेमा दुङमाली भाषा सङ्ग्रहालयको शिलान्यास गर्नुभयो । सानोदुङमामा जन्मेर खेल क्षेत्रको माध्यमबाट विश्वमा नेपाल र भोजपुरको नाम चिनाउनका लागि सफल भएको भन्दै राईको नाममा सामुदायिक भवनको निर्माण गर्न लागिएको हो ।

त्यस्तै गाउँपालिकाभित्र रहेका भाषाको संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । सङ्ग्रहालय स्थापनाले सबै भाषाको समान प्रचारप्रसार र संरक्षण, संवद्र्धन गर्ने उहाँको भनाइ छ । सामुदायिक भवन निर्माणका लागि रु २० लाख र सङ्ग्रहालय निर्माणका लागि रु १५ लाख प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

त्यस्तै मीरा राईको सम्मानमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्य कबर्ड हल निर्माणका लागि रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको समेत मुख्यमन्त्री राईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement