लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने
काठमाडौँ, ४ फागुन। ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी सङ्घ पाटन एकाइको २२औँ वार्षिक साधारणसभाको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले कानूनको एउटा अङ्ग लेखापढी व्यवसायी भएकाले यसलाई अनुशासित र मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले अदालतले नै लेखापढीलाई प्रमाणपत्र दिइ जनता सेवा गर्न दिएको भन्दै यसलाई विस्थापित गर्न नखोजिएकोसमेत स्पष्ट पार्नुभयो । उहाँले न्यायिक र अर्धन्यायिक सरकारी निकायका काम कारवाही अहिले प्रविधिमैत्री बन्दै गएको बताउँदै त्यसअनुसार सेवाग्राहीलाई लेखापढी व्यवसायीले सेवा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले स्थानीय तहमा सर्वसाधारणलाई लेखापढी व्यवसायीले पु¥याएको योगदान उल्लेखनीय भएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा हुने जनताका कामलाई लेखापढी व्यवसायीले सहज बनाउको बताउनुभयो । मालपोत कार्यालय ललितपुरका प्रमुख भीमकान्त पौडेलले वार्षिक रु पाँच अर्बको राजश्व ललितपुर कार्यालयले मात्रै सङ्कलन गरिरहे पनि सरकारले कार्यालयलाई रु पाँच लाख पनि बजेट नदिएको गुनासो गर्नुभयो ।
साधारणसभाको कार्यसमितिका अध्यक्ष मिनराज दाहालले एशोसिएसनको वार्षिका प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले सरकार र मन्त्री स्वयंबाट आएका परिपत्र स्पष्ट नभएकाले लेखापढी व्यवसायीलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन पनि समस्या भइरहेको बताउनुभयो । सभामा एशोसिएसनका पूर्वअध्यक्ष, पेशामा संलग्न ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो । रासस