चौथो कागेश्वरी पर्यटन महोत्सवको तयारी


काठमाडौँ, ४ फागुन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरको प्रचारप्रसारका लागि चौथो कागेश्वरी महोत्सव गरिने भएको छ ।

विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हालका प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते गर्न शुरुआत गरिएको थियो । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । यस वर्ष स्थानीय श्याम लामाको संयोजकत्वमा महोत्सव आयोजक मूल समारोह समिति गठन गरिएको छ । महोत्सवमा यहाँका तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिनेछ ।

महोत्सव तयारीका लागि आज गागलफेदीको पीपलबोट चौतारीमा साहित्य सम्मेलन आयोजना गरियो । सम्मेलनमा प्रदेशसभा सदस्य फुयाँल, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, नगरपालिका–१ अध्यक्ष मुकुन्द गजुरेल, परशुराम पराजुली, मेनक आचार्य, गोकुल खड्कालगायत १७ जना कवि एवं कवयत्रीले कागेश्वरीको बयान गरिएका रचना पाठ गर्नुभयो ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतानित्रक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो । एक वर्षमा यसको निर्माण भइसक्ने जनाइएको छ । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement