डिपिएल-३ : आज हुने दुवै खेल खेल बर्षाका कारण रद्द भए पछि ४ टिमले बाँडे अंक
काठमाडौं, ४ फागुन । धनगढी प्रिमियर लिगमा बिहिबारबाट परेको वर्षाको कारण मैदानमा पानी जमेपछि शनिबारको पहिलो र दोस्रो दुवै खेल रद्द भएको छ ।
फाप्ला क्रिकेट मैदानमा शनिबार पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको थियो भने दोस्रो खेल धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीच हुने थियो ।
तर, अम्पायरले मैदानको आउटफिल्डमा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने जनाएपछि खेल रद्द भएको हो ।
खेल रद्द भएपछि आज खेलमा सहभागिता जनाउने टिमले अंक बाँडेका छन् । सोसँगै काठमाडौं ३ खेलबाट ५ अकं जोडेर शीर्ष स्थानमा छ भने विराटनगर ४ खेलबाट ४ अकं जोडेर चौंथो स्थानमा छ ।
यस्तै महेन्द्रनगरले ४ खेलमा २ हारसँगै २ अंक जोडेको छ भने घरेलु टोली धनगढी स्टार्स प्रतियोगिताबाट बाहिरिएको छ ।
चार खेल खेलिसक्दा १ अंकमात्रै भएर पुछारमा रहेको धनगढीले अन्तिम खेलमा जित निकाले पनि प्लेअफ पुग्ने सम्भावना सकिएको छ ।
सुरूआती तीन खेलमा लगातार पराजय भोगेपछि प्लेअफ सम्भावना जीवित राख्न धनगढीलाई महेन्द्रनगरसँग जित्नैपर्ने बाध्यता बनेको थियो। तर, खेल रद्द भएपछि एक अंक पाएको धनगढीको सम्भावना सकिएको हो ।
लिग चरणमा शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।