आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै


–सुशीला रेग्मी

बेझाड, ४ फागुन । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाड्नुभएको छ ।

दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि ‘एलोपेथिक’ औषधि प्रयोग गर्नै छाडेको उहाँले बताउनुभयो । छोरालाई आङको रोगले सताएपछि आयुर्वेदिक औषधि नियमित सेवनले रोग निको भएपछि यसमै विश्वास गर्न थालेको पङ्गेनीले बताउनुभयो । “ आधुनिक अस्पताल, मेडिकलको औषधि कति गरँे तर निको नै भएन, पैसा पनि धेरै खर्च भयो, कहाँ लैजाने होला भन्ने भयो, एक पटक आयुर्वेदिक औषधि गरौँ भनेर शुरु गरेको ठिक भयो”, पङ्गेनीले भन्नुभयो ।

शान्ति भण्डारीले अन्य औषधिको सट्टा अहिले नियमित आयुर्वेदिक औषधि नै सेवन गर्नुहुन्छ । “घरायसी आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि स्वास्थ्य पनि ठिक हँुदै गएको छ, मेडिकल धाउन छाडे”, उहाँले भन्नुभयो । सोही ठाउँ बस्ने ६८ वर्षीय वृद्ध रीतुनाथ गौतमले घरायसी जडीबुटीको प्रयोगबाट आयुर्वेदिक औषधि बनाउन थालेपछि औषधि खरीद गर्न सहज भएको छ । उहाँको घरमा यतिबेला आयुर्वेदिक औषधि किन्ने ग्राहकको घुइँचो छ ।

एक सय ८० प्रकारका जडीबुटी सङ्कलन गरी गौतमले आयुर्वेदिक औषधि बनाउनुहुन्छ । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका घरायसी जडीबुटीबाट उहाँले आयुर्वेदिक औषधि बनाउनुहुन्छ ।

गौतमको घरमा दैनिक २० भन्दा बढी ग्राहकले नियमित औषधि सेवन गरिरहेका छन् । आयुर्वेदिक औषधि बिक्रीबाट वर्षमा रु एक लाख ५० हजारभन्दा बढी कमाइ हुने उहाँले बताउनुभयो । तराई, हिमाली र पहाडी क्षेत्रबाट सङ्कलित जडीबुटीबाट औषधि बनाउने गरिएको छ ।

गानोगोला, ग्यास्ष्ट्रिक, महीनावारी अनियमितता, बच्चा नपाउने समस्याका बिरामीले आयुर्वेदिक औषधि खोजीखोजी लैजाने गर्छन् । गौतमले आफैँले ओखलमा कुटेर औषधि बनाउनुहुन्छ । “औषधि बनाउन थालेको १८ वर्षभन्दा बढी भयो, ग्राहक आइरहेका छन्, व्यावसायिक रूपमा नै औषधि उत्पादन गरिरहेको छु” उहाँले भन्नुभयो । घरको आँगनमा दिनभर बसेर औषधि बनाउने र बिक्री गर्दा समय गएको पत्तो हुँदैन ।

“अहिले त गाउँघरमा मात्र नभई, विदेशतिरबाट पनि माग आउन थालेको छ, आयुर्वेदिक औषधिले शरीरलाई ठिक गर्ने हुँदा पनि सबैले चासो दिँदै खरीद गरेर लैजाने गरेका छन्, औषधि बनाउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो । भारत, दुवई, साउदी अरब, कतारलगायतका विभिन्न स्थानमा खरीद गरेर नेपालीले औषधि लालैजाने गरेका गौतमले सुनाउनुभयो । निरोगी व्यक्तिले पनि आयुर्वेद औषधि नियमित सेवन गर्ने गरेको पाइन्छ ।

श्रीमान्को खबर नपाउँदा पीडामा कुमाल

सात महीनादेखि श्रीमान् बेपत्ता भएपछि चापाकोट नगरपालिका–८ स्याङ्जा बस्ने चम्पा कुमाल पीडामा जीवन जिउँदै हुनुहुन्छ ।

उहाँका ५३ वर्षीय श्रीमान् प्रेमबहादुर गएको भदौदेखि सम्पर्कविहीन हुनुहुन्छ । गाउँका युवालाई भर्ती गराउन भारत लैजाने भन्दै घरबाट निस्कनुभएका प्रेमबहादुर अहिलेसम्म परिवारको सम्पर्कमा नआएको श्रीमती चम्पाले बताउनुभयो । “आफन्त, साथीभाइ धेरै ठाउँमा खोजीकार्य गरे पनि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन, भर्ती हुन भनेर सँगै गएका गाउँका सबै युवा घर फर्किए तर श्रीमान्को केही खबर पाउन सकिएन”, चम्पाले भन्नुभयो ।

श्रीमान् बेखबर बनेको पीडाले कुमाललाई न दिनमा भोक न रातमा निद्राजस्तै भएको छ । “सँगै गएका युवा भैरहवाबाट आफ्नै कामकाजमा फर्किएको र प्रेमबहादुर आफ्नो अन्यत्र काम देखाएर निस्किएको खबर ती युवाबाट थाहा पाइयो तर अहिलेसम्म फोन सम्पर्क केही छैन”, उहाँको भनाइ छ ।

चम्पाले श्रीमान्को खोजीकार्यमा दुःखसँग बाख्रा, कुखुरा पालेर कमाएको केही रकम खर्च गर्नुभयो । तर अहिलेसम्म श्रीमान्को पत्तो लाग्न नसकेको उहाँ बताउनुहुन्छ । “तीन छोरा छन्, श्रीमती लिएर म सँग छुट्टिएर बसेका छन्, म एक्लै पीडामा घरको पिँढीमा बसेर श्रीमान् आउने आशामा बसिरहेको छु”, कुमालले बिलौना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement