कला प्रदर्शनमा अब्बल देखिए सामुदायिक विद्यालयका विद्यार्थी
– कालिका खड्का
काठमाडौँ, ३ फागुन । झट्ट सुन्दा ! अतिरिक्ति क्रियाकलाप निजी विद्यालयले मात्र गर्छन् भन्ने भान परिरहेको समयमा आज श्री टङ्गाल माध्यमिक विद्यालयका विद्यार्थीले निकै कलात्मक तरिकाले बनाएको शैक्षिक सामग्री प्रदर्शनी गरेका छन् ।
‘विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी’ नाम दिएको प्रदर्शनीमा हेर्दा नेपालको नक्सा झल्कने खालका देखिन्थ्यो । नेपालको राष्ट्रिय फूल गुराँस, राष्ट्रिय जनावर गाईको कलात्मक चित्र कागजबाट बनाएका थिए । नेपालको हिमालदेखि तराईसम्म बस्ने मानिसका वेशभूषामा सजिएका जातजातिका निकै कलात्मक तरिकाले निर्माण गरेर प्रदर्शनीमा राखिएका थिए ।

नेपालको भाषा र साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य र साहित्यकार झमक घिमिरेका तस्बीरहरु पनि कलात्मक तरिकाले बनाएका थिए । प्रदर्शनीमा विज्ञान, वातावरण, संरक्षण क्षेत्रका विषयमा पनि निकै मिहिनेत देखेर विद्यार्थीले शैक्षिक सामग्री निर्माण गरी प्रदर्शनमा ल्याएका थिए ।
कक्षा ९ मा पढ्ने विद्यार्थीद्वय अर्जुन शर्मा र चन्द्रप्रसाद घिमिरेले केवलकारको नमूना बनाएका थिए । धेरै शिक्षक तथा विद्यार्थी केवलकार हेर्न झुम्मिएका थिए । सो केवलकार निर्माण गर्ने विद्यार्थीमध्ये एक अर्जुन शर्माले भन्नुभयो, “तीनदिन लगाएर केवलकारको नमूना बनाएको हो, पहिलो पटक स्कूलमा प्रदर्शनी गर्न लागिएको हो ।” उक्त नमुना केवलकार स्विच थिचेपछि चल्ने र बन्द गरेपछि रोकिने भएकाले दर्शकको आकर्षणको केन्द्र बनेको देखियो ।

अर्का कक्षा ८ मा अध्ययनरत विद्यार्थी सर्य विश्वा मगरले कार्टुनको प्रयोगबाट नेपालको नक्सा, कम्प्युटर, डोजर र हलो बनाएका थिए । जुन एउटा व्यावसायिक कलाकारले बनाएको भन्दा कम थिएन । “स्कूलले शैक्षिक प्रदर्शनी गर्न लागेको थियो, के बनाउँदा राम्रो हुन्छ भनेर बनाउँदा धेरै चीज बनाए”, छात्र मगरले भन्नुभयो, “विद्यालयले शैक्षिक प्रदर्शनी राख्दा बनाउने पनि प्रोत्साहन मिल्छ ।”
प्रदर्शनी आयोजक समितिकी संयोजक कक्षा ९ मा पढ्ने सुम्निमा सुब्बालाई विद्यालयले शैक्षिक प्रदर्शनी गरेकामा निकै खुशी लागेको छ । “सरकारी विद्यालयमा पढ्नेलाई केही बनाउनै आउँदैन कि जस्तो व्यवहार गर्छन्, कति गर्न सक्छन् भन्ने प्रदर्शनीले नै भल्काउँछ ।”

विद्यालयको शैक्षिक क्यालेण्डरमा नै व्यवस्था गरेर सो विद्यालयले आज शैक्षिक प्रदर्शनी गरेको हो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीका अनुसार विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलाप उजागर गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी गरिएको हो ।
विसं २०२० मा स्थापना भएको विद्यालयका १०० जना विद्यार्थीले शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए । प्रदर्शनीमा विज्ञान, वातावरण, सामाजिक, महाकवि देवकोटा, साहित्यकार घिमिरेलगायत वाणीसहित तस्बीर प्रदर्शनी गरिएको थिए ।
“प्रदर्शनी विद्यालयको पहिलो प्रयास हो, निजी विद्यालयले मात्र होइन इच्छाशक्ति भए सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ,” विद्यालयका प्रअ अधिकारीले भन्नुभयो, “सामुदायिक विद्यालय कमजोर छैनन्, सामुदायिक विद्यालयले शिक्षाको स्तर वृद्धि गर्ने प्रणका साथ काम गरेका छौँ ।”
सो प्रदर्शनी हेर्नका लागि २० विद्यालयबाट करीब ४०० विद्यार्थी अवलोकन गरेका थिए । विद्यार्थी अभिभावक, शिक्षाप्रेमीलगायत गरी एक हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेका थिए । सो विद्यालयमा हाल एक हजार विद्यार्थी छन् । काठमाडौँ महानगरपालिका–५ मा रहेको एउटा मात्र सामुदायिक सो विद्यालयमा शिशुकक्षादेखि दशजोड दुईसम्म पढाइ हुन्छ । रासस