डिजिटल प्रदेश बनाउने प्रस्ताव ल्याउन आग्रह


खस्यौली, ३ फागुन । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ लाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने गरी ठोस प्रस्ताव ल्याउन सूचना, प्रविधिसँग सम्बन्धित क्षेत्रलाई आग्रह गर्नुभएको छ । क्यान महासङ्घ रुपन्देहीले आजदेखि बुटवलमा शुरु गरेको क्यान इन्फोेटेकमा उहाँले भन्नुभयो, “जनशक्ति तयार भए, प्रस्ताव ल्याउनुहोस्, नभए सम्भव हुँदैन ।”

“सूचना, प्रविधिसँग सम्बन्धित व्यक्ति तयार भए काम अघि बढाउन सकिन्छ,” उहाँले भन्नुभयो । प्रदेशमा ई–एजुकेशन लागू गर्न सस्तो ल्यापटप उत्पादन आवश्यक भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ लाई ‘आइटी सिटी’का रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिँदै सूचना प्रविधिको क्षेत्र नयाँका लागि अवसर हो भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले सूचना, प्रविधिको ज्ञानलाई सङ्गठित गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रविधिमा निजी क्षेत्र आँटका साथ अघि नआएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक २ वर्षमा पुरानो प्रविधि विस्थापित भएर नयाँ प्रविधि भित्रिदैछन् ।”

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सूचना र प्रविधिलाई उपयोग गरेर जीवनशैली परिवतर्न हुने उल्लेख गर्दै प्रविधिमार्फत सेवाग्राहीले सेवा पाइरहेको बताउनुभयो । क्यान महासङ्घ नेपालका अध्यक्ष हेमन्त चौरासियाले प्रदर्शनीलाई अवलोकन थलोका रुपमा मात्रै होइन प्रविधि प्रयोगको थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

क्यान इन्फोटेक रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी, क्यान महासङ्घका पूर्वअध्यक्ष डा विमलकुमार शर्मा, उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाललगायतले सूचना प्रविधिको उपयोगबाट फाइदा लिन सकिने बताउनुभयो । सूचना प्रविधिसँग सम्बन्धित ११० कक्षमार्फत क्यान इन्फोटेक यही फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । रुपन्देहीमा विसं २०५९ सालदेखि सूचना प्रविधि प्रदर्शनी हँुदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement