इतिहास रच्न चुक्यो नेपाल : म्यानमारसँग नेपाल ३-१ गोलअन्तरले पराजित !


काठमाडौं, ३ फागुन । भारतको उडिसामा जारी हिरो गोल्डकपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।

यो पराजयसँगै नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना फेरि अधुरै रहेको छ ।

नेपालले अन्तरष्ट्रिय प्रतियोगितामा फाइनल पुगेर उपाधि जित्न नसकेको यो चौथो पटक हो ।

भर्खरै सम्पन्न फाइनलमा नेपालले खेलको ३४ औं मिनेटमा पहिलो गोल खाएको थियो । १-० ले पछाडि परेको अवस्थामा नेपालले पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काउँदै उपाधि जितको सपनालाई कायमै राखेको थियो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

तर खेलमा नेपालको सो सपनालाई खेलको ५४ औं मिनेटमा म्यानमारले निराश पार्‍यो । यसरी २-१ ले पछि परेको नेपाललाई म्यानमारले खेलको ६३ औं मिनेटमा फेरि अर्को झट्का दियो र नतिजालाई ३-१ को अवस्थामा पुर्‍यायो ।

समूह उप-विजेताको रुपमा फाइनल पुगेको नेपाल यस गोल्डकपको पहिलो खेलमा पनि म्यानमारसँगै पराजित भएको थियो । सो खेलमा नेपालले ३-० फराकिलो हार खाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement