ओभरसियरको चिप्लिएर मृत्यु
खलङ्गा, ३ फागुन । जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा विद्युत्को नहर सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो ।
तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा शुरुआत गरिएको करीब एक मेगावाटको विद्युत् निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन् । तिला गाउँपालिकाअन्तर्गत एक मेगावाट स्तरको बिजुली निकाल्न सांसद विकास कोषको रु तीन करोड ९६ लाख र तिला गाउँपालिकाको रु ५० लाख विनियोजन भई काम तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।
होटलमा आगलागी
सदरमुकाम खलङ्गास्थित ग्रिनल्याण्ड होटल आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् भने आगलागीबाट लाखौँको क्षति भएको छ ।
बिहीबार राति करीब १२ बजेतिर भएको आगलागीमा वीरेन्द्रनगर–१३ सुर्खेतका ४० वर्षीय मानबहादुर दर्लामी मगर घाइते भएका छन् । उनको शरीरको बाहिरी भाग र अनुहार जलेको छ । आगलागी हुँदा बाहिर निस्किने ठाउँ नभेटेपछि उनी जलेर गम्भीर घाइते भएका छन् ।
हाल उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । आगलागीबाट होटल आंशिक रुपमा जल्दा रु २१ लख ७४ हजार बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले प्रमुख सीताराम रिजालले बताउनुभयो ।
आगलागीका कारण खुल्न नसके पनि बालिएको मैनबत्तीबाट आगो सल्केर होटल जलेको हुनसक्ने अनुमान गरिएको छ । आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा राति करीब १ बजेपछि मात्र नियन्त्रणमा लिइएको हो । होटलभित्र रहेका भाँडावर्तनलगात सुनका महँगा गहना र सामानमा ठूलो क्षति भएको होटल सञ्चालक चेतन रावलले जानकारी दिनुभयो । रासस