आफ्नी तीन महिने छोरीको अनुहार हेर्न होलीको विदामा घर जाने योजनामा रहेका यी जवान गए कहिल्यै नफर्कने बाटो
काठमान्डौ, ३ फागुन । बिहिबार अपरान्ह भारतको जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्यान गुमाए । उनको डेढवर्ष अघि मात्रै विवाह भएको थियो । तीन महिना पहिले उनको पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको थियो । उनको नजिकका एक साथीका अनुसार आफ्नी छोरीलाई भेट्न रोहिताश होलीको छुट्टीमा घर जाने योजनामा थिए । तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । उनको मृत्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।
भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा भएको आतंकवादी आक्रमण स्थानीय एक युवाले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।
प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आ त्मघाति कार बिस्फोट गराएको दावी छ । आक्रमणमा पछिल्लो समाचारअनुसार कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको र ४० भन्दा धेरै घाइते भएको जनाइएको छ । करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले सीआरपीएफ रहेको बसमा कार ठोक्काएर बिस्फोट गराएको बताइएको छ ।
अँझ संवेदनशील कुरा के छ भने भारतीय इन्टेलिजेन्सलाई यस्तो आक्रमणबारे पहिला नै सूचना रहेको भारतीय संचारमाध्यमले दावी गरेका छन् । पहिला नै सूचना हुनु र ठूलो संख्यामा सुरक्षा फौज हुँदा पनि यसप्रकारको आक्रमण हुनुलाई भारतीय सुरक्षावृतमा निकै खल्बली मच्चाइदिएको छ । यो आक्रमणलाई कश्मीर आक्रणको दोस्रो ठूलो आक्रमण भनिएको छ । यो आक्रमणपछि चुनावमा होमिनै लागेको भारतीय राजनीतिलाई तरंगित बनाइदिएको छ । दलहरुले एकै भाषामा आतंकवादीविरुद्ध कडा कारबाही गरिने बताएका छन् । सरकार र विपक्षको आवज पनि एउटै सुनिएको छ ।