आज उपत्यका पानी पर्दै, भोलि पनि बादल लाग्ने !


काठमाडौं, ३ फागुन । पश्चिमी वायुको प्रभावले देशभर लगातार एकसातासम्म घाम लाग्न सकेको छैन । पहाडी भू-भागमा सातामा दुई दिन हल्कादेखि मध्यम वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । यो क्रम अझै केही दिन लम्बिने देखिएको छ ।

‘यसवर्षको सातौं पश्चिमी वायुले बिहीबारदेखि नै मौसम बदलिएको छ । पश्चिमी क्षेत्रमा हिजै पानी परिसक्यो । राजधानी उपत्यका आसपासमा शुक्रबार अपरान्हपछि पानी पर्ने छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘शनिबार पनि बादल लाग्नेछ । आइतबार मौसम केही खुले पनि फेरि अर्को पश्चिमी वायु आउने सम्भावना छ ।’

यो वर्ष अहिलेसम्म भएको हिउँदे वर्षा नै औसतभन्दा बढी भइसकेको उनले जानकारी दिइन् । ‘यसपालि पश्चिमी वायु धेरै नै आयो, पोहोर परारको औसतभन्दा बढी हिउँदे वर्षा भइसक्यो,’ उनले भनिन् ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement