निर्यात प्रवद्र्धन नवनियुक्त राजदूतको प्राथमिकता


काठमाडौँ, २ फागुन । विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतले कूटनीतिक सम्बन्धलाई मजबुद बनाउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले कूटनीतिक प्रयासमार्फत सम्बन्धित मुलुकबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउनसमेत सक्दो पहल गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सहभागी भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)का लागि नवनियुक्त नेपाली राजतदूतले नेपालको व्यापार घाटा न्यूनीकरणका लागि नेपाली उत्पादनको प्रचार गर्दै निर्यात प्रवद्र्धन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले निर्यात प्रवद्र्धनमा देखिएका कानूनी झन्झट हटाउन पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्यातको परिमाण र विविधता बढाउन आवश्यक छ । दुई देशको संयुक्त लगानीमा उद्योग कलकारखाना सञ्चालन गरेर निर्यात बढाउन सकिन्छ । यसतर्फ मेरो ध्यान रहन्छ ।”

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियासँग असल श्रम सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मलेसियालगायत फिलिपिन्स, ब्रुनाई र इन्डोनेसियाबाट समेत वैदेशिक लगानी भित्र्याउन पहल गरिने बताउनुभयो ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँदै त्यहाँ देखिएका नेपाली घरेलु कामदारको समस्या समाधान गरिने बताउनुभयो । आधारभूत विषयमा जानकारी नहुँदा युएईमा नेपाली श्रमिकले अकालमै ज्यान गुमाउनुपरेको यथार्थ आफूले बुझेको जिकीर गर्दै उहाँले सबै श्रमिकमाझ जनचेतना जगाउन अभियान सञ्चालन गरिने बताउनुभयो ।

युएईमा नेपालको कृषिजन्य उत्पादन निर्यात गर्ने प्रचूर सम्भावना औँल्याउँदै राजदूत ढकालले कृषि, पानी प्रशोधन, र पुष्प खेतीका क्षेत्रमा लगानी भित्रयाउन र तिनै उत्पादन बिक्री गरेर व्यापार घाटा कम गर्न सकिने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement