प्रतिवादी ३६ वर्षपछि पक्राउ


स्याङ्जा, २८ माघ । कालीगण्डकी गाउँपालिका–५ बस्ने ७५ वर्षीय झिल्लुप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले अंशबन्डा मुद्दामा ३९ साल साउन १७ गते पाँच हजार २०२ रुपैयाँ ७५ पैसा जरिवाना तोकेको थियो ।

जरिवाना नतिरेपछि अदालतले २ वर्ष कैद सजाय तोकेकामा फरार रहेका न्यौपानेलाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । न्यौपानेविरुद्ध जिल्ला अदालत स्याङ्जामा ३३ साल पुस २३ गते मुद्दा दर्ता भएको थियो ।

जलेर मृत्यु

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका एक गाडखानीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । आज बिहान स्थानीयवासी ५८ वर्षीय बलबहादुर थापाको घरमा आगलागी हुँदा थापाको घरमा बस्दै आएका २८ वर्षीय कृष्ण कामीको जलेर मृत्यु भएको भण्डारीले जानकारी दिनुभयो । मृतक कामी थापाको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट थापाको घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार आगलागीबाट थापाको १४ लाख ८० हजार बराबरको क्षति भएको छ । कामीको शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ भने आगलागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement