काठमाडौं महानगरले ९ नगरपालिकालाई एक-एक करोड दिंदा टोखा नगरपालिकालाई चाँही किन छुटायो ?


काठमाडौं, २७ माघ । काठमाडौं महानगरपालिकाले उपत्यकाका एकीकृत विकास कार्यक्रमअन्तर्गत नौ नगरपालिकालाई एक/एक करोड रुपैयाँ उपलब्ध गराएको छ ।

छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरूप उद्यान निर्माणका लागि ती नगरपालिकालाई एक/एक करोड रकम उपलब्ध गराएको हो ।

महानगरपालिका र काठमाडौं जिल्लाभित्रका नगरपालिकाबीच नगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई रु एक/एक करोड रकम उपलब्ध गराइएको जनाइएको छ ।

कामपाको गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नौ नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

कामपाको साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौंका नगरपालिकाको हरियाली प्रवर्द्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि रकम हस्तान्तरण गरिएको कामपाले जनाएको छ ।

कामपा प्रमुख शाक्यले छिमेकी नगरपालिका मजबुत नभएसम्म काठमाडौं महानर मजबुत नहुने भन्दै छिमेकी नगरसँगको सहकार्यमा उद्यान निर्माणपछि अर्थतन्त्र बलियो हुने धारणा राखे ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरमा नै धेरै विकास गर्नुपर्ने हुँदाहुँदै पनि छिकेकी नगरपालिकालाई सहयोग गर्नु कामपाको उदाहरणीय कार्य रहेको भन्दै प्रदान गरिएको रकम सम्बन्धित शीर्षकमा नै खर्च गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement