आफु बढुवा नभएपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा !


काठमाडौं, २७ माघ । एसएसपीमा बढुवा सिफारिस गरेपछि असन्तुष्ट जनाउँदै नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् ।

गृह मन्त्रालयले १४ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको बढुवामा आफु नपरेपछि उप्रेतीले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

‘म बढुवामा योग्य भइनँ,’ उप्रेतीले भने, ‘नैतिकताको आधारमा म पदमा कसरी बसुँ?’

बढुवामा नपरेपछि आफ्नो भविष्य नै अन्धकारमा धकेलिएको उनले बताए ।

‘मभन्दा एक ब्याज जुनियरले बढुवा पाएका छन्,’ उप्रेतीले भने ‘करियर नै समाप्त भएपछि कसरी संगठनमा बसेर सेवा गर्न सक्छु ।’

काम गर्न हामीलाई लगाउने, बढुवा उपहार भने अरूलाई दिने प्रवृत्ति संगठनमा हावी भएको भन्दै उप्रेतिले असन्तुष्टि पोखे ।

उप्रेतीभन्दा टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल जुनियर प्रहरी अधिकृत हुन् ।

प्रहरी सेवामा उप्रेतीले बारा, रसुवा, सिन्धुली, उदयपुरमा जिल्ला कमाण्ड गरेका थिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि उनले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा काम गरेका थिए । हाल उनी अपराध महाशाखामा कार्यरत थिए । उनले प्रहरी रत्न लगायतका पदसमेत पाएका थिए ।

यता प्रहरी प्रधान कार्यालय स्रोतले भने बारामा प्रमुख रहदाँ उनी सुपारी काण्डमा मुछिएका कारण बढुवा सुचीमा नपरेको बताएको छ ।

‘उनीसहित एक डिएसपी र एक इन्सपेक्टरले नसिहत पाएका थिए, ‘स्रोतले भन्यो, ‘त्यसबेला एक जना सइसहित १४ जना प्रहरी बर्खास्तमै परेका थिए ।’

प्रतिक्रिया दिनुहोस
Advertisement