‘तीनै तहबीच समन्वय आवश्यक’


राजविराज, २६ माघ ।  प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले स्थानीय, प्रदेश र सङ्घीय सरकारले एकआपसमा समन्वय गरी अघि बढनुपर्ने बताउनुभएको छ ।

सप्तरीको प्रमुख पर्यटकीयस्थल कञ्चनरुप नगरपालिका–१२ स्थित धारापानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ सप्तरीको वार्षिक साधारणसभाको उद्घाटन गर्देै उहाँले तीनै तहका सरकारबीच समन्वयको अभावमा विभिन्न समस्या उठ्ने गरेकाले विकास निर्माणका लागि प्राप्त बजेट, साधन र स्रोत न्यायोचित रुपमा खर्च गरिनुपर्नेमा जोड दिनुभयो ।

तीनै तहका सरकारले गरेको कामकाज बारेमा सञ्चारकर्मीहरुले निगरानी गरेर सरकारलाई सहयोग गर्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारलाई कुनै प्रलोभनमा नपरी भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत वरिष्ठ राजनीतिज्ञ एवं पूर्वपत्रकार कृष्णराज वर्मा, जेठा पत्रकार शिशुप्रसाद देवकोटा, कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र तथा न्यूज टुडेका प्रकाशक एवं कम्प्याक्ट कम्यूनिकेशन प्रालिका अध्यक्ष शिवनारायण साहलगायतलाई कदर पत्रबाट सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement