आँखा शिविरबाट साढे तीन सयले सेवा लिए


कञ्चनपुर, २६ माघ । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आज आयोजित एकदिने आँखा शिविरबाट ३४६ जनाले सेवा लिएका छन् ।

वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको शिविरमा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा प्रमोद अधिकारी र नेत्र अधिकृत वीर सिंह धामीले सेवासँगै प्राविधिक सहयोग गर्नुभएको थियो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा शनिवार आयोजित एकदिने आँखा शिविरमा आँखा चेकजाँच गर्दै नेत्र विशेषज्ञ । वडा कार्यालयको सहयोगमा गेटा आँखा अस्पताल कैलालीले प्राविधिक सहयोग गरेको छ । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

शिविरमा आँखा जाँचका लागि पुगेकामध्ये ३० जनामा मोतिया विन्दुको समस्या देखापरेको नेत्र अधिकृत धामीले बताउनुभयो । मोतिया विन्दु भएका बिरामीको आइतबार गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जनामा आँखाभित्रको नशा फुलेको पाइएकाले उपचारका लागि अस्पतालमा जान सल्लाह दिइएको छ । “शिविमा आँखाबाट आँसु बग्ने, जलविन्दु भएका, आँखामा सङ्क्रमण भएका र आँखामा मासु पलाएका बिरामीलाई निःशुल्क रुपमा शिविरमा औषधिसमेत वितरण गरिएका छौँ,” उहाँले भन्नुभयो ।

आँखा शिविरबाट सेवा लिनेमा ९० प्रतिशत दलित र बाँकी अन्य समुदायका व्यक्ति रहेका थिए । शिविर सञ्चालनका लागि रु एक लाख ५० हजार रकम खर्च लागेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । “वडाको रकमसँगै गेटा आँखा अस्पताल र झलारी स्वास्थ्य चौकीबाट समेत शिविरमा उपचारका लागि पुगेका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement