वाग्मती सौन्दर्यीकरणको काम रोक्ने चेतावनी


काठमाडौँ, २६ माघ। कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले आइतबारदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणको काम रोक्ने चेतावनी दिएका छन् ।

विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका स्थित गोठाटार पुल आसपासका स्थानीयवासीको जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो । हातमा लालपूर्जा भएपनि जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।

सो जग्गामा हाल किसानलाई मुआब्जा नदिई सौन्दर्यीकरणको काम शुरु भएको भन्दै रोक्न लागिएको वाग्मती पीडित संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले जानकारी दिनुभयो । समितिले आज गुह्येश्वरीमा कालो ब्यानर राख्दै यस अघि २०५३, २०६६, २०६७, २०७४ र गत मङ्सिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गरेको छ । दुवै नगरपालिकाका दाहाल, पुडासैनी, आचार्य, रिजाल, बराल, तामाङ् र श्रेष्ठ बन्धु समाजका किसान वाग्मती पीडित बनेको उहाँले बताउनुभयो ।

गत मङ्सिर १० गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष र आयोजना प्रमुखले पीडित किसानलाई मुआब्जा दिएर मात्र सौन्दर्यीकरणको काम अघि बढाउने सम्झौता गर्नुभएको थियो । सोहीअनुसार मङ्सिर १२ गते २२ वर्षको बाली लिन आउनु भनी पीडितका नाममा गोरखापत्र दैनिकमा सार्वजनिक सूचनासमेत प्रकाशित गरिएको थियो ।

गत मङ्सिर १६ गतेको अधिकार सम्पन्न वाग्मती समितिको बोर्ड बैठकले अनुमोदन गरेपनि अहिलेसम्म बाली र मुआब्जा वितरणको प्रक्रिया शुरु हुन नसकेको पीडित किसानको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement