नौ नगरलाई एक—एक करोड


काठमाडौँ, २५ माघ । काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक÷एक करोड रुपैया उपलब्ध गराउने भएको छ ।

आज बसेको २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो ।

यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि रु एक करोड प्रदान गरिसकेको छ । अब टोखाबाहेकका अन्य नगरलाई रकम दिइनेछ । आजैको बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

बैठकले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख रहने व्यवस्था गरिएको छ ।

त्यस्तै भवन निर्माण मापदण्ड पुनरवलोकन गर्न प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडाध्यक्ष मुकुन्द रिजाल, शशिलाल श्रेष्ठ, मोहन बिष्ट र चिनियाँमान बज्राचार्य हुनुहुन्छ । शहरी सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई रु तीन करोड उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement