राजसंस्था भएको देश थाइल्याण्डमा राजकुमारी बनिन् प्रधानमन्त्रीको उम्मेद्वार !


एजेन्सी, २५ माघ । एसियाली मुलुक थाइल्याण्डमा संवैधानिक राजतन्त्र यथावत हुँदा हुँदै पनि राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीको उम्मेद्वार बन्ने घोषणा गरेकी छिन् ।

संवैधानिक राजतन्त्र भएको देशमा राजपरिवारका सदस्य देशको सक्रिय राजनीतिमा सहभागी हुँदैन तर राजकन्याले भने आउने मार्च २४ मा हुने निर्वाचनमा प्रधानमन्त्री उम्मेद्वार बन्ने घोषणा गरेर तरंग नै ल्याइदिएकी छन् ।

स्वर्गीय राजा भूमिबोल अदुल्यादोजकी छोरी ६७ वर्षीया उबोलरतना निर्वासनमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीकी उम्मेदवार बन्न लागेकी हुन् ।

थाइल्याण्डमा शुक्रबारसम्म हरेक दलले आफ्ना प्रधानमन्त्री उम्मेदवारका नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने थियो । सिनावात्राको थाई रक्षा चार्ट पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा उबोलरतनाको नाम पठाएको समाचार एजेन्सीले जनाएको छ ।

‘देशभित्र र बाहिरको अनुभव बाँड्दै उहाँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार हुन राजी हुनुभयो। हामीलाई विश्वास छ उहाँ उपयुक्त उम्मेद्वार हो,’ पार्टीका नेता प्रीचापल पोङपानिचले संवाददाताहरूसँग भने, ‘हामी नियमको पालना गर्नेछौं । हामीले गर्ने सबै कुरा कानुनअनुसार हुनेछन् । उहाँका लागि कुनै विशेष अधिकार र सुविधा हुने छैन ।’

उबोलरतनाको उम्मेदवारीसँग सन् २०१४ मा सैन्य कूमार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई आगामी चुनावमा धक्का लाग्ने देखिएको छ । उनी जुन्तासमर्थक पालाङ प्रचारत पार्टीबाट प्रधामन्त्री उम्मेदवार बनेका छन् ।

राजकुमारी उबोलरतना अहिलेसम्म पार्टीकी सदस्य छैनन्। उनले सांसदका लागि उम्मेद्वारी पनि दिएकी छैनन् । थाइल्याण्डको संविधानअनुसार सांसद नहुँदा पनि प्रधानमन्त्री बन्न पाइन्छ ।

अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि सन् १९७२ मा उबोलरतनाले थाई राजपरिवारको उपाधि त्यागेकी थिइन् । १९९८ मा उनको पिटरसँग सम्बन्धविच्छेद भएको थियो । त्यसको तीन वर्षपछि उनी स्वदेश फर्किएकी थिइन् ।

सन् १९३२ संविधानले राजसंस्था आलंकारिक बनाएपछि थाई राजपरिवारका कुनै पनि सदस्यले सक्रिय राजनीति पदका लागि चुनाव लडेका छैनन् ।

उबोलरतनाले उम्मेदवार बन्न सिनावात्राको पार्टीलाई छानेकाले पनि धेरैले यसलाई आश्चार्य मानेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement