स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल बराबरीमा रोकिए !


एजेन्सी, २४ माघ । विश्व फुटबलको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको स्पेनिस कोपा डेल रे अन्तरगतको सेमिफाइनलको पहिलो लेग १–१ को बराबरीमा सकिएको छ ।

नोउक्याम्पमा बुधबार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर बार्सिलोनाले बराबरीको नतिजा निकालेको हो ।

खेलको छैटौ मिनेटमा लुकास भास्क्वेजले गोल गरेपछि घरेलु टोली पछि परेको थियो ।

भिनिसियस जुनियरले क्रस गरेको बललाई करिम बेन्जेमाले उपलब्ध गराएको पासमा भास्क्वेजले बक्सभित्रबाट गोल गरेका थिए ।

३२औं मिनेटमा बार्सिलोनाका इभान राकिटिकको प्रहार क्रसबारमा लागेर फर्कियो । ३४औं मिनेटमा भिनिसियस जुनियरको अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो ।

एक गोलले पछि परेपछि बार्सिलोनाले गोल गर्ने प्रयास गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५७औं मिनेटमा मालकोमले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असमर्थ रहँदा खेल बराबरीमा सकियो । यससँगै रियलले पहिलो लेगमा अवे गोलको अग्रता लिएको छ ।

घरेलु मैदानमा २७ फेब्रुअरीमा हुने खेलमा रियलले बार्सिलोनालाई रोक्न सके अवे गोलमा अघि बढ्नेछ । बार्सिलोनालाई अघिल्लो चरणमा प्रवेश गर्न निश्चित जित आवश्यक छ ।

कोपा डेल रे अन्तरगतको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement