उपत्यकामा शनिबारसम्म पानी पर्ने, उच्च हिमाली भेगमा भारी हिमपात !


काठमाडौं, २४ माघ । गए रातिदेखि काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ ।

दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा भने हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको हो । यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ । काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement