एकै ठाउँमा जनतालाई सेवा प्रदान


भक्तपुर, २३ मा। सरकारले घरदैलोमै सरकारी सेवा पु¥याउन शुरु गरेको अभियानअन्तर्गत यहाँका सबै सरकारी कार्यालयबाट जनतालाई दिने सबै सेवा एकै पटक एउटै थलोबाट प्रवाह गरिने भएको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित वडा कार्यालयमा एकीकृत घुम्ती शिविरमार्फत जिल्लाका सेवाप्रदायक निकायले सेवाग्राहीसमक्ष पुगेर सबै सेवा एकै पटक प्रदान गरिने भएको हो । आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले गुण्डुबाट शुरु भएको सो सेवालाई सबै वडामा अभियानका रुपमा लैजाने बताउनुभयो ।

कार्यक्रमबारे जानकारी दिँदै वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले शुक्रबार जनतालाई सम्पूर्ण सुविधा एकै थलोबाट प्रवाह गरिने गरी सञ्चालन गर्न लागेको घुम्ती शिविरको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

बृहत् निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्यका विशेषज्ञ सेवाहरु, निःशुल्क औषधि वितरण, जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी, नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्रको वितरण लगायतका सेवा प्रवाह गरिने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी घुम्ती शिविरमा डिभिजन वन कार्यालयबाट बिरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्धारा अपाङ्ग, एकल महिला, विद्यार्थी, भूकम्पपीडितलाई निःशुल्क सिमकार्ड वितरण र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितका गुनासा व्यवस्थापन लगायतका सेवा प्रदान गरिने छन् ।

सो नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्ग परिचयपत्र, नक्शा पास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोबर परीक्षण, नाम्लेको औषधि वितरण, व्यवसाय दर्ता, कृषि बीउ बिजन वितरण प्राविधिक सल्लाहलगायत सेवा प्रदान गरिने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

घुम्ती शिविरले सेवाग्राहीकै घरदैलोमा सेवा पु¥याउने भएको छ । घुम्ती सेवा तथा निःशुल्क स्वास्थ्य शिविर लगायतका व्यवस्थापन र प्राविधिक सहयोग नेपाली सेनाको वीर दल गण सूर्यविनायकले गर्ने गणका गणपति शिवप्रसाद पौडेलले बताउनुभयो । घुम्ती शिविरको प्रचार–प्रसारका लागि नगरपालिकाले एक हप्तादेखि सरसफाइ कार्यक्रम, हातेपर्चा वितरण, माइकिङ लगायत प्रचारात्मक काम गरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement