ललितपुरलाई सहयोगापेक्षी सडकमुक्त शहर बनाउन पहल


काठमाडौँ, २३ माघ । ललितपुरलाई सहयोगापेक्षी सडकमानव मुक्त शहर निर्माणका लागि सामूहिक सहकार्यको खाँचो रहेको आज एक कार्यक्रमका सहभागीले औँल्याएका छन् ।

ललितपुर महानगरपालिका र मानवसेवा आश्रमको संयुक्त आयोजनामा आज भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सडकमा अशक्त असहाय र बेवारिसे व्यक्तिलाई उद्धार गरी संरक्षण गर्ने विषयमा महानगर अग्रसर भएको बताउनुभयो ।

मानवसेवा आश्रमले गरेको कामको प्रशङ्सा गर्दै उहाँले महानगरले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । अहिले आश्रमलाई महानगरले घरभाडाबापत सहयोग उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा बोल्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै यस्ता कार्यमा सबैको सहकार्य जरुरी रहेको औँल्याउनुभयो । उहाँले सडकमा आउनुपर्ने अवस्थाको अन्त्यका लागि पनि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आश्रमका प्रमुख संरक्षक तथा आध्यात्मिक चिन्तक डा गोविन्द टण्डनले सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउने विषयमा अवधारणापत्र प्रस्तुत गर्दै सबैको चाहना भयो भने एक वर्षभित्र मै सम्भव हुने बताउनुभयो ।

पाटन अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत लीलाराज आचार्यले मानवीय काममा अस्पतालको सहकार्य हुने उल्लेख गर्नुभयो । प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले आश्रमसँगको सहार्यमा धेरै व्यक्तिको उद्धार भएको स्मरण गर्दै अझै सहकार्य जरुरी रहेको औँल्याउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आज प्रस्तुत गर्नुभएको अवधारणापत्रकै आधारमा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । २०७३ सालदेखि यहाँ सेवा शुरु गरेको मानवसेवा आश्रम ललितपुरले हालसम्म २२५ को सडकबाट उद्धार गरिएको संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जसमध्ये ७८ लाई परिवारमा मिलन गराइएको छ भने हाल आश्रममा ४२ ले संरक्षण पाइरहेका छन् । केहीले स्वेच्छाले आश्रम छाडेको र रोगग्रस्त अवस्थामा उद्धार गरिएकाको मृत्यु भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement