दानाको मूल्य बढेको तर अण्डाले भाउ नपाएको भन्दै अण्डा उत्पादक किसान आन्दोलित, दुवै कार्यालयमा तालाबन्दी !


चितवन, २३ माघ । लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाए भन्दै नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् ।

विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनु परेको पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन् ।

हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो रु ५३ पुगेको भन्दै सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अण्डा प्रतिक्रेट रु २३० मा मात्र बिकेको बताउनुभयो ।

अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट रु ३०० पाउनुपर्ने उहाँको भनाइ छ । हाल बजार मूल्यअनुसार किसानले एउटा अण्डाको हाराहारी आठ रुपैयाँ पाएका छन् । सोही अण्डा उपभोक्ताले खरीद गर्दा रु १५ तिर्नुपर्ने बाध्यता छ । दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी बेहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement