सरकारलाई असफल बनाउन ‘पराजित शक्ति र विदेशी शक्ति सक्रिय’: गृहमन्त्री रामबहादुर थापा


सर्लाही, २२ माघ । गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताउनुभएको छ ।

दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उहाँले पराजित शक्तिका साथै देश टुक्र्याउने शक्ति सक्रिय रहेको बताउनुभयो ।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ”, उहाँले भन्नुभयो । उहाँले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्ने भन्नुभयो ।

“विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ”, उहाँले भन्नुभयो, “हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।”

मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भन्नुभयो, “विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ ।”

महोत्सव आज माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो ।

ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उहाँले बताउनुभयो । आज पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement