मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता हुने


काठमाडौँ २२ माघ। नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २० र २१ गते काठमाडौँमा हुने तय भएको छ ।

उक्त प्रतियोगताअन्र्गतको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूह गरी ६ स्पर्धामा प्रतिस्पर्धा गराइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रत्येक तौल समूहका शीर्ष तीन स्थान हात पार्ने खेलाडीले स्वर्ण जित्नेले रु २५ हजार, रजत जित्नेले १५ हजार र कास्य पदक हात पार्नेले १० हजार पाउनेछन् । यस्तै चौथो र पाँचौँ हुने खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै प्रत्येक तौल समूहका प्रथम स्थान हात पार्ने खेलाडीले मिस्टर हिमालय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सबै प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ‘मिस्टर हिमालय’को उपाधिसहित रु दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रत्येक दुई वर्षमा आयोजना हुने मिस्टर हिमालय प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधाअन्तर्गत हुने दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ को स्पर्धामा पुरुषतर्फ १७० सेमी र त्योभन्दा माथि गरी दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीलाई प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट पाँच खेलाडी दोस्रो दिन हुने फाइनल चरणका लागि छनोट गरिनेछ ।

फाइनल चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, १५ हजार र १० हजार पाउनेछन् । यस्तै चौथो र पाँचौँ हुने खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करीब रु २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement