सडकमा बच्चा जन्माइरहेको अवस्थामा पाँच महीनाअघि उद्धार गरिएकी बङ्गलादेशीको पुनःस्थापनाको पहल


परासी, २२ माघ । सडकमा बच्चा जन्माइरहेको अवस्थामा पाँच महीनाअघि उद्धार गरिएकी एक बङ्गलादेशी महिलाको सफल उपचार भएको छ । उपचार सफल भएपछि उनको पुनःस्थापनाको लागि पहल पनि शुरु भएको छ ।

बङ्गलादेशको मानिकगञ्ज नजिकै माइत र आरिसा घर बताउने ३५ वर्षीया शलमा खानलाई भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजिकैबाट उद्धार गरिएको थियो ।
सडकमै बच्चा जन्माएर सालनालसमेत नकाटिएको अवस्थामा फेलापरेपछि बच्चासहित ती महिलाको जिल्ला प्रहरी कार्यालय नवलपरासीले उद्धार गरी जिल्ला अस्पताल पुराएको थियो ।

मानसिक सन्तुलन गुमाएकी ती महिलाको रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा कोशीस नेपाल ललितपुरमा स्वास्थ्य उपचारका लागि पठाइएको थियो भने बच्चालाई जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा नर्स र महिला प्रहरीको रेखदेखमा संरक्षण गरिएको रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुँवरले बताउनुभयो ।

चार महीना ११ दिनको मानसिक उपचार पश्चात् ती महिला पूर्ण स्वस्थ अवस्थामा फर्केको कोशिस नेपालकी सामाजिक कार्यकर्ता मञ्जु क्षेत्रीले बताउनुभयो । “मानसिक सन्तुलन गुमाइसकेकी ती महिला छिट्टै स्वस्थ हुँदा निकै खुशी लागेको छ,” उहाँले भन्नुभयो ।

अहिले परासीस्थित अल्पकालीन आश्रयस्थल सेवा केन्द्रमा उनलाई आश्रय दिइएको छ । उनलाई अस्पतालको संरक्षणमा राखिएको छोरासँग पनि भेट गराइएको छ । पाँच महीनापछि छोरालाई भेट्न पाउँदा शलमामा खुशीको उमङ्ग छाएको थियो ।

अब उहाँलाई आफ्नै देश फर्काउन काठमाडौँस्थित बङ्गलादेश दूतावासमार्फत पहल भइरहेको छ । त्यसका लागि दूतावासका अधिकारीसँग कुराकानी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय बताउनुहुन्छ । ती महिलाले आफू अर्धचेत अवस्थामै एक वर्षअघि बङ्गलादेशबाट भारतहुँदै नेपाल आएको बताउनुभयो ।

श्रीमान् आसान खानले बङ्गलादेशमा खुर्सानीको व्यापार गर्दै आएको बताउँदै उहाँले आफ्नो त्यहाँ तीन जना छोरी र पहिलो श्रीमतीको चार जना छोरी रहेको बताउनुभयो । पहिलो श्रीमतीको मृत्युपछि श्रीमान्ले आफूलाई विवाह गरेको तर आर्थिक अवस्था कमजोर भएकाले ६ महीनाकी कान्छी छोरीलाई अर्कैले पाल्न लगेपछि चिन्ताले आफू मानसिक रोगी हुन पुगेको ती महिलाको भनाइ छ ।

बस चढेर नेपाल आएको बताउने ती महिलाले आफूलाई छिटो घर जाने वातावरण बनाइदिन आग्रह पनि गर्नुभएको छ । दूतावासमार्फत ती महिलालाई पुनःस्थापना गरिने उल्लेख गर्दै रामग्राम नगर उपप्रमुख कुँवरले भन्नुभयो,“हामीले पहल गरिरहेका छौँ, उनलाई पुनःस्थापनाका लागि नेपाल सरकार तथा दूतावासबाट सहयोग हुने अपेक्षा पनि छ ।”

बालिका बेपत्ता

माघे औँशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीधाममा लागेको मेला भर्न गएकी एक बालिका हराएकी छिन् ।

परिवारसँगै त्रिवेणी नुहाउन गएकी रामग्राम नगरपालिका–८ उनवछकी दश वर्षीया चन्दा केवट मेलाबाटै हराएकी हुन् । बिहान ११ बजे भीडभाडबाटै आफ्नी नातिनी हराएको चन्दाका हजुरबुबा वृजलाल केवटले बताउनुभयो ।

हराइरहेकी बालिकाको खोजी कार्यमा सहयोग गरिदिन हुन स्थानीय प्रहरी प्रशासनलगायत सबै पक्षसँग उहाँले आग्रह गर्नुभयो । नारायणी, सोनभद्र र पूर्णभद्र नदीको सङ्गमस्थल भएको हुँदा त्रिवेणीधाममा माघे औँशीमा मेला लाग्ने गर्छ ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement