धुर्मुस सुन्तलीले अन्तरास्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने विषयमा कप्तान पारस खड्काले यस्तो प्रतिक्रिया दिए
काठमाडौँ । युएईमा घरेलु टिममाथि टी-२० र एक दिवसीय सिरिज जित हासिल गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो ।
यति बेला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा अन्तरास्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने कुराको ब्यापक चर्चा छ । यहि विषयलाई लिएर विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई सोधिएको प्रश्नमा उनि भन्छन – ‘रंगशाला बनोस् भन्ने हाम्रो चाहना हो, यो नेपाली खेलकुदका लागि राम्रो हुन्छ’।
‘आइसीसीका प्रतिनिधिहरू केही दिनपछि नेपाल आउनेछन् र हाम्रो मैदानको अवलोकन गर्नेछन्। यदि उनीहरूले यहाँ एक दिवसीय खेल खेलाउन सकिन्छ भन्ने सुझाव दिए नेपालमै केही ओडिआइ खेलहरू हुन्छन्,’ खड्काले भने।
विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर आज स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ ।
ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही रु १० हजार सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । नेपाली टोलीलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । यस्तै खेलाडीको स्वागतमा सयौँ समर्थक विमानस्थल पुगेका थिए ।
युएइविरुद्ध एकदिवसीय र टी–२० सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोली अपराह्न नेपाल आइपुगेको हो । घरेलु टोली युएइविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–२० सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको शुरुआती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।
सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले सिरिज विजेता खेलाडीलाई जनही रु पाँच लाख दिन सरकारसमक्ष सिफारिश गर्ने बताउनुभयो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ऐतिहासिक सिरिज खुशीको कुरा भएको बताउनुभयो । प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका छन् । रोहितकुमार पौडेल एक दिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।
विजेता खेलाडीलाई पुरस्कार
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युएइविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली खेलाडीलाई सम्मान गर्नुभएको छ ।
खेल सम्पन्न गरी आज स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्दै उहाँले २१ खेलाडीलाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले पुरस्कृत गर्नुभएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले खेलाडीलाई थप सफलता प्राप्त गर्न हौसलास्वरुप व्यक्तिगत रुपमा उक्त प्रोत्साहन रकम उपलब्ध गराउनुभएको बताइएको छ । रासस