काङ्ग्रेसको विरोध प्रदर्शन


पोखरा, २१ माघ । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्धारित कार्यक्रमअन्तर्गत काङ्ग्रेस कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ ।

पोखराको पृथ्वीचोकबाट शुरु विरोध ¥याली महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले देशमा हत्या हिंसा आतङ्क बढे पनि सरकारले त्यसको नियन्त्रण गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले संसद्जस्तो गरिमामय संस्थालाई मातहतको मन्त्रालयजस्तै बनाएको आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य जीवन परियारले निर्मला हत्याकाण्डजस्ता जघन्य घटनामा सरकारले पीडितलाई न्याय दिन नसकेको बताउनुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतान्त्रिक मूल्य मान्यताको जगेर्नाका साथै संसदीय सर्वोच्चताको रक्षाका लागि काङ्ग्रेस सधैँ दृढ रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, प्रदेशसभा सदस्यद्वय कुमार खड्का र विन्दुकुमार थापालगायतले सुशासन, लोकतन्त्रका विरुद्धमा हुने जस्तासुकै गतिविधिका विरोधमा काङ्ग्रेसले सशक्तरुपमा प्रतिवाद गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारको गतिविधि अमानवीय खालको भएको आरोप लगाउनुभएको छ ।

काङ्गे्रस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित विरोध प्रदर्शन सभामा उपसभापति निधिले सरकार जनता, लोकतन्त्र, सङ्घीयता, समावेशी र संविधान विरोधी भएको जिकिर गर्नुभयो । साथै सरकारले अपराध, हत्या, हिंसा भ्रष्टाचार, महँगी नियन्त्रण गर्न नसकेको समेत आरोप लगाउनुभयो ।

उहाँले संवैधानिक परिषद्मा पनि एकलौटी गरेका कारण यसको निर्णयको छलफललाई काङ्गे्रसले बहिष्कार गरेको धारणा राख्नुभयो । सो दलका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारले संविधान संशोधन कार्य अहिलेसम्म नगरी मधेशी जनतालाई ठग्ने कार्य गरिरहेको बताउनुभयो । जिल्ला सभापति महेशशङ्कर गिरीको सभापतित्वमा भएको सो सभामा पूर्वमन्त्री रामकृष्ण यादव र जिल्ला उपसभापति सन्तोष यादवले सरकारले जनतालाई उपेक्षा गरी तानाशाही लाद्ने कार्य गरिरहेको धारणा राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement