संसद बैठकमा गगन थापाले कांग्रेसको आन्दोलनले अब सरकार आश्चर्यचकित हुने भनेको भोलि पल्टै ओली सरकार बिरुद्द कांग्रेस सडकमा, प्रधानमन्त्री ओलीको राजिनामा माग्दै ७७ वटै जिल्लामा कांग्रेसले गर्यो विशाल प्रदर्शन (फोटो भिडियो)


काठमाडौँ, २१ माघ । फितलो प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्ने आलोचना हुदै गर्दा नेपाली कांग्रेसले अब भने सडकबाट विरोध प्रदर्शन थालेको छ । केपी ओली नेतृत्वको सकारको कामले विश्व चकित भएको ओलीकै दावीलाई चुनौति दिदै कांग्रेसले आन्दोलनको चेतावनी दिएको थियो ।

हिजोको संसद बैठकमा कांग्रेस नेता तथा सांसद गगन थापाले कांग्रेसको आन्दोलनले अब सरकार आश्चर्यचकित हुने पालो आएको अभिव्यक्ति दिएका थिए । वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत मुद्दा कांग्रेसले विरोध सभामा उठाएको छ।

थापाले भनेझैँ कांग्रेसको प्रदर्शनले सरकार आश्चर्यचकित होला नहोला । तर कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

दुई तिहाइको दम्भले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकोले विरोध गर्न देशैभर प्रर्दशन गर्न लागिएको कांग्रेसको भनाइ छ।

जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम, २१ माघ । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारको गतिविधि अमानवीय खालको भएको आरोप लगाउनुभएको छ ।

काङ्गे्रस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित विरोध प्रदर्शन सभामा उपसभापति निधिले सरकार जनता, लोकतन्त्र, सङ्घीयता, समावेशी र संविधान विरोधी भएको जिकिर गर्नुभयो । साथै सरकारले अपराध, हत्या, हिंसा भ्रष्टाचार, महँगी नियन्त्रण गर्न नसकेको समेत आरोप लगाउनुभयो ।

उहाँले संवैधानिक परिषद्मा पनि एकलौटी गरेका कारण यसको निर्णयको छलफललाई काङ्गे्रसले बहिष्कार गरेको धारणा राख्नुभयो । सो दलका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारले संविधान संशोधन कार्य अहिलेसम्म नगरी मधेशी जनतालाई ठग्ने कार्य गरिरहेको बताउनुभयो । जिल्ला सभापति महेशशङ्कर गिरीको सभापतित्वमा भएको सो सभामा पूर्वमन्त्री रामकृष्ण यादव र जिल्ला उपसभापति सन्तोष यादवले सरकारले जनतालाई उपेक्षा गरी तानाशाही लाद्ने कार्य गरिरहेको धारणा राख्नुभयो ।

सरकार समृद्धिको बाटोमा हिँड्न सकेन : वरिष्ठ नेता पौडेल

दमौली, २१ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले सरकारका मन्त्रीहरु काममा भन्दा फोटो खिचाउनमा मात्रै व्यस्त रहेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास अवरुद्ध पारेर सरकारले सोचेको समृद्धि पूरा नहुने बताउनुभयो । वरिष्ठ नेता पौडेलले शान्ति सुरक्षा, विकास र सुशासनमा सरकार असफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुनकाण्डका ठूला माछा कहाँ गएँ, वाइड बडीमा भ्रष्टाचार गर्ने कहाँ छन् ? उनीहरुलाई बचाउन खोजिएको आभास हुँदैछ ।” वरिष्ठ नेता पौडेलले अख्तियार र सर्वोच्च अदालतलाई तर्साएर सरकारले आफूखुशी काम गर्न थालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “दश हजार घुस खाने पक्राउ पर्छन्, तर अर्बौंको भ्रष्टाचार गर्नेलाई छुट दिइएको छ ।”

काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताउनुभयो । उहाँले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताउनुभयो । प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने नेता पौडेलले बताउनुभयो ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement