दाङको टरिगाउँ विमानस्थलमा ‘टर्मिनल’ भवनको शिलान्यास
लमही, २१ माघ । दाङको टरिगाउँ विमानस्थलमा निर्माण हुन लागेको यात्रु प्रतिक्षालय (टर्मिनल भवन)को शिलान्यास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आज टर्मिनल भवनको शिलान्यास गर्नुभएको हो । हवाई सेवा सञ्चालन हुन थालेपछि यात्रुको सहजताका लागि टर्मिनल भवन निर्माण गर्न थालिएको हो । सो भवन रु ५८ लाख २७ हजार लगातमा शौचालयसहित यात्रुका लागि हल, सुरक्षा जाँच, एयरलाइन्सको लागि दुईवटा कोठा, यात्रुको सबै सामाज जाँच गरिसकेपछि बाहिर निस्कन नमिल्ने खालको निर्माण गरिने इञ्जिनीयर युवराज रिजालले बताउनुभयो ।
उहाँका अनुसार २४ मिटर लम्बाइ र १२ मिटर चौडाइ रहेको उक्त भवन निर्माणको जिम्मा न्यू आस्टिना निर्माण सेवाले लिएको छ । चालू आर्थिक वर्षको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ । विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भए पनि पुरानो टर्मिनल भवन जीर्ण हुँदा यात्रुलाई असहज हुने भएकाले नयाँ भवन निर्माणको शुरुआत गरिएको टरिगाउँ तथा नेपालगञ्ज ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो ।
यसैबीच भवन शिलान्यास पूर्व भएको कार्यक्रममा उपमहानगरका प्रमुख पाण्डेले आइतबार भएको प्रदेश नं ५ को आधारपत्रमा टरिगाउँ विमानस्थल स्तरवृद्धि भनी समावेश गरिएकाले अब विमान सेवा नियमित बन्नेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
विमानस्थलमा धावनमार्ग विस्तार गरी एक हजार ५०० मिटर बनाउनका लागि कुनै समस्या नरहेको र अस्थायी इन्धन डिपो ल्याउने विषयमा पनि प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ छ । स्थायी इन्धन डिपो निर्माणका लागि जग्गा खोज्ने कार्य भइरहेको उहाँले बताउनुभयो । रासस