यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर राष्ट्रको शिर ठाडो पार्ने क्रिकेट खेलाडीहरुलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने


काठमाडौं, २१ माघ । यूएईसंग खेलेको एकदिवसीय र टी-२० सिरिज दुवै जितेर आज नेपाल फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तरास्ट्रिय  विमानस्थलमा रातो कार्पेटमा भव्य स्वागत गरिने भएको छ ।

युएईलाई चकित पार्दै आफ्नै घरेलु मैदानमा हराएको थियो । आइतबार भएको टी-२० को अन्तिम खेलमा नेपाली खेलाडीको फिल्डीङलाइ त युएईका प्रशिक्षकले अविस्वस्नीय नै भनेका थिए। पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको खबर आएको छ ।

खेलाडीहरुको स्वागत गर्न खेलप्रेमीहरु बिमानस्थल पुगीसकेका छन। रातो कार्पेटको प्रवन्ध भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको हो ।

दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाका अनुसार क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ ।

नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेसँगै त्रिपुरेश्वरस्थित राखेप परिसर पु¥याइने कार्यक्रम छ । “मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिसकेको छु, प्रधानमन्त्रीको समय मिलेपछि सरकारी तवरबाट उच्च सम्मानको कार्यक्रम बन्नेछ”–उपाध्यक्ष तिम्सिनाले रासससँग भन्नुभयो ।

यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन् ।

लामिछाने बिग बास लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ)बाट अष्ट्रेलिया जाने भएका हुन् । उनी सो लिग बीचमै छोडेर बिपिएलका लागि बङ्गलादेश गएका थिए । बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएइमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन् ।

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको शुरुआती चार खेल खेलेर सन्दीप बङ्गलादेश प्रिमियर लिग (बिपिएल) लिग खेल बङ्गलादेश आएका थिए ।

घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो । दुवै शृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई शृङ्खला आफ्नो पक्षमा पारेको थियो ।

नेपाली टोलीका लागि दुवै शृङ्खला ऐतिहासिक शृङ्खलासमेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो ।

उक्त प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमानसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।

टी–२० शृङ्खला खेल्नुअघि नेपालले यूएइसँग तीन म्याचको एकदिवसीय शृङ्खला खेलेको थियो । दुबै शृङ्खलामा नेपालको प्रदर्शनमा एउटा समानता रह्यो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलामा २–१ को कब्जा ।

०००

आफ्नो देश नेपाललाई युएईमा दुई शृंखला जिताएपछि बिगबास खेल्न अष्ट्रेलिया जाँदै सन्दीप लामिछाने, अबको तिन दिन पछी नै छ म्याच

काठमाडौं, २० माघ । विश्व चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछानेले युएईमा दुवै सिरीज नेपालले जितेपछि सबै टिमलाई बधाई दिएका छन । उनि युएई पुग्नु अगाडी यसै वर्षदेखि अष्ट्रेलियाको घरेलु टी ट्वान्टी लीग बिग बाश लीगमा आवद्ध भएका थिए । स्टार लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो टीम मेलर्बन स्टार्सका तर्फबाट ४ खेल खेलेपछि बंगलादेश प्रीमियर लीग बीपीएल खेल्न बंगलादेश पुगेका थिए ।

तर सन्दिप बीपीएल जारी रहेकै बेला नेपाल र यूएईबीच द्वीपक्षीय एकदिवसीय र टी ट्वान्टी शृंखला खेल्न सिधै दुबई पुगेका थिए । दुबईमा नेपालले इतिहास रच्दा महत्वपूर्ण योगदान दिएका सन्दीप अब अष्ट्रेलियामा आफ्नो कला देखाउन जाँदै छन् । मेलबर्न स्टार्सका आगामी खेल यही फेब्रुअरी ८ तारिखमा छ । सो खेलमा सन्दीप उपलब्ध हुनेछन् । उनको खतरनाक बलिङको प्रतिक्षामा अस्ट्रेलियाको टिम रहेका छन ।

सन्दिपले आइतबार साँझ ट्वीट गर्दै भनेका छन् –  ‘यूएईसँगको दुबै शृंखला एक दिवसीय र टी-२० जितेको गौरवानित भएको छु, सबैसंग खुशी व्यक्त गर्दछु र सबैलाई बधाई छ । अब फेरी बीबीएल खेल्न अष्ट्रेलिया जादैछु।’

विश्व स्तरका स्पिनर सन्दिप यत्ति महत्वपूर्ण खेलाडी भैसकेकी उनलाई अस्ट्रेलियाले पर्खी बसेको छ ।

युएई जानअघि बीबीएलका ४ खेलमा ८ विकेट लिएर सनसनी मचाइसकेका सन्दीपलाई उनको टीम मेलर्बन स्टार्सले पर्खेर बसेको अवस्था छ । सन्दीपले अष्ट्रेलिया जाने भरेर गरेको ट्वीट मेलबर्न स्टार्सले रिट्वीट गर्दै छिटै भेट्न चाहेको भनेर लेखेको छ । विश्व कै ठुलो लिग आइपीएलमा शानदार पर्फमेन्स गरेपछि सन्दिप एक पछी अर्को क्लवमा आबद्द हुदै आएका छन ।

यस्तो छ सन्दिपको ट्वीट:

टि–२० सिरिज जित्दै नेपालद्वारा इतिहास कायम

काठमाडौँ, २० माघ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई÷दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई÷दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए । यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो । रासस

०००

क्रिकेटमा नेपालको उत्कृष्ट पुनरागमन, यस्तो छ नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा (नालीबेली)

–कुमार चौलागाईं

काठमाडौँ, २० माघ । युवा क्रिकेट खेलाडीले भरिएको नेपालले पहिलो एकदिवसीय र टी–२० सिरिज जितेको छ । घरेलु टोली युएइसँग तीन एकदिवसीय तथा तीन टि–२० खेल खेलेको नेपाली टोलीले दुवै सिरिज समान २–१ ले जितेको छ । दुवै सिरजअन्तर्गतका पहिलो खेलमा पराजय भोगेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि रक्षा गरेको हो ।

उपाधि जितेलगत्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, “हामीले राम्रो टिम पाएका छौँ, दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौँ । यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ, हाम्रा लागि यो सिरिज महत्वपूर्ण छ । विश्वकप छनोट नजिक छ । यसले पक्कै पनि हामीलाई फाइदा पुग्नेछ । तीन÷चार महीनादेखि तयारी थाले उत्कृष्ट नतिजा ल्याउँछौँ ।”

कप्तान खड्काले करण केसी र अभिनाश बोहराले बलिङमा राम्रो प्रदर्शन गर्नुका साथै सोमपाल कामी र सन्दीप लामिछानेलगायतको भूमिकाको खलेर प्रशंसा गर्नुभयो । पहिलो ओभरमा सन्दीपले धेरै रन खर्चे पनि दोस्रो ओभरमा राम्रो बलिङ गरे । “आजको जितको आधार फिल्डिङ हो । प्रदर्शनबाट एकदमै खुशी लागेको छ”, खड्काले भन्नुभयो ।

दुई नेपाली खेलाडीको विश्व रेकर्ड

जारी प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने । टी–२० सिरिज खेल्नुअघि नेपालले युएइसँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको थियो ।

नेतृत्वविहीन क्रिकेटको सफलता

नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्वनमा परेको तीन वर्ष भइसक्यो । यसबीचमा राष्ट्रिय टोलीले तीन ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षांैदेखिको विश्व क्रिकेटमा एकछत्रराज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व रेकर्ड समेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्र रुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेपछि नेपाली क्रिकेट अहिले नेतृत्वविहीन अवस्थामा छ । क्रिकेट सङ्घ निलम्वनकै अवस्थामा गत वर्षमात्र एकदिवसीय मान्यता पाएको नेपालले अहिले एकदिवसीय सिरज र टि–२० सिरिज जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल भएको छ ।

“आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस्”–क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे भन्नुहुन्छ । क्रिकेटको विकास लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने दबाब आजको जितबाट परेको छ ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको हो ।

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटलको व्यवस्थापकीय पक्ष सबै आइसिसीले नै हेर्दै आएको छ । निलम्वन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पति त्यसले सार्थकता पाउन सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्गप्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्वित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ ।

“आइसिसीले निलम्वन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेब्रुअरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्वन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, नेपाल क्रिकेट सङ्घ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो । विसं २०७२ मा राष्ट्रिय खेलकूद परिषद्ले निर्वाचित क्यानलाई मान्यता नदिइ रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महीनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको हो ।

सीमित स्रोतसाधनका बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र क्रिकेट खेल विस्तारमा थप योगदान पु¥यायो । पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाएको हो ।

विसं २०५५ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पायो । त्यस वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मा¥यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो ।

सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो । उपाधि युएईले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भूटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो । त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली क्रिकेटले सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह ए को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

सन् २०१० को फेब्रुअरीमा काठमाडौँमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो । सन् २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement