एक्सन फिल्म ‘सरौतो’ लिएर आउँदैछन् सुमी र सन्नी, सिनेमाको लागि २ बर्षदेखि सुमीले ट्रेनिङ गर्दै !
काठमाडौं, २१ माघ । नेपाली एक्सन चलचित्र ‘सरौतो’ बन्ने पक्का भएको छ ।
राजधानीमा एक कार्यक्रमकाबीच यस चलचित्रको घोषणा गरिएको हो ।
हरि हुँमागाईंको निर्देशनमा बन्न लागेको चलचित्रमा सुमी मोक्तान तथा अभिनेता सन्नी सिंहको प्रमुख अभिनय रहने छ । ‘सरौतो’बाट निर्देशन डेब्यू गर्न लागेका हुँमागाईं १ दशकदेखि भिडियो, सिनेमा र विज्ञापनमा छायाँकारको रुपमा सक्रिय थिए ।
सिनेमामा सुमी मोक्तान र सन्नी सिंहको साथमा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहने छ ।
२० बढि सिनेमा खिचिसकेका निर्देशक हरी हुमागाईले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए ।
यस्तै सिनेमाको घोषणा कार्यक्रममा अभिनेत्री सुमीले सिनेमाका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको खुलासा गरिन् ।
‘सिनेमामा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, सिनेमाको चरित्रलाई न्याय गर्न पुर्ण रुपमा लागी पर्नेछु’, उनले भनिन्।
त्यस्तै अभिनेता सन्नीले भूमिका मन परेकोले सिनेमामा जोडिएको बताए ।