बिमानस्थलमा जफत गरिएको सामान लिलामी बिक्रीमा, सबैभन्दा बढी मदिरा रहेको उल्लेख


काठमाडौं, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत भएको मदिरा लिलामी बिक्रीमा राखेको छ ।

भन्सार कार्यालयले जफत भएको मदिरासँगै अन्य सामान पनि लिलामी बिक्रीका राखेको हो ।

विमानस्थल भन्सार कार्यालयले कुल २ हजार ९ सय १७ बोत्तल मदिरा बिक्रीका लागि आह्वान गरेको हो । तोकिएको न्यूनतम मूल्यअनुसार सो परिमाणको मदिरा बिक्रीबाट कम्तीमा ६१ लाख ६१ हजार रुपैयाँ राजश्व उठ्नेछ । मूल्य बढाबढमा बिक्री हुने भएकाले मदिराबाट उठ्ने राजश्व रकम योभन्दा बढी हुने अनुमान लगाइएको छ ।

विदेशबाट फर्किने नेपालीले १ लिटरको परिमाणमा १ बोत्तलसम्म मदिरा ल्याउन पाउने व्यवस्था छ । योभन्दा बढी परिमाणमा ल्याएकाको जफत गरी लिलामी बिक्री गरिँदै आएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

मदिराका अलवा आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थान लिलामी बिक्रीमा राखिएको छ । सोवापत न्यूनतम ६ लाख २४ हजार राजश्व उठ्नेछ ।

त्यसैगरी ७२६ ग्राम यार्सागुम्बा न्यूनतम मूल्य ८ लाख रुपैयाँ तोकेर बिक्रीमा राखिएको छ ।

रत्नजडित कुर्ता सुरुवाल, मोटर ट्रान्सफर्मर, ट्रेकिङ सामान, डोन क्यामरा, स्मार्ट वाच, चुरोट लगायतका जफत सामान पनि लिलामी बिक्रीमा राखिएको छ ।

ति सामानको बिक्रीबाट मात्रै न्यूनतम १ करोड ४७ लाख रुपैयाँ राजश्व उठ्नेछ। जफत भएका यी सबै सामानको न्यूनतम मूल्य अनुसार पनि २ करोड १२ लाख रुपैयाँ राजश्व उठ्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement