पीएसजीलाई खट्कियो नेयमारको अभाव, लिगमा अपराजित रहेको पीएसजीले बेहोर्यो पहिलो हार !


एजेन्सी, २१ माघ । फ्रान्सेली लिग वनमा अपराजित रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो पटक हार बेहोरेको छ ।

आइतबार भएको लिगको खेलमा लियोनसँग २-१ ले पराजित भएसँगै पीएसजीको अपराजित यात्रा टुंगिएको हो ।

खेलको सातौं मिनेटमा एन्जल डी मारियाले पीएसजीलाई अग्रता दिलाएपनि लियोनले खेलमा पुनरागमन गर्दै स्टार खेलाडीले भरिएको पीएसजीलाई लिगको पहिलो हार चखायो ।

गोलरक्षक एल्फोन्स आरिओलाको गल्तिको फाइदा उठाउँदै मुसा डेम्बेलेले खेलको ३३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

लियोनका लागि दोस्रो हाफमा नाबिल फेकिरले पेनाल्टीमार्फत विजयी गोल गरे । पीएसजीका थियागो सिल्भाले डेम्बेलेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलमा अधिकांश समय दबाब बनाएपनि पीएसजीले हार टार्न भने सकेन ।

ब्राजिलियन फरवार्ड नेयमार चोटका कारण अनुपस्थित रहँदा एडिन्सन कभानी र किलियन एमबाप्पेमाथि गोल गर्ने जिम्मेवारी बढेको थियो । तर दुवै खेलाडीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पीएसजीले लिगमा पहिलो पराजय भोग्नुपर्यो ।

यस पराजयका बाबजुद पनि पीएसजी लिगको शीर्ष स्थानमा १० अंकको फराकिलो अग्रता लिएर बसेको छ । दोस्रो स्थानको लिलभन्दा २ खेल कम खेलेको पीएसजीले २१ खेलमा ५६ अंक जोडेको छ । लिलले २३ खेलमा ४६ तथा तेस्रो स्थानको लियोनले २३ खेलमा ४३ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement