नेपाली काँग्रेसले आज सरकारविरुद्ध राजधानीको रत्नपार्क र देशभरको जिल्ला सदरमुकाममा प्रर्दशन गर्दै
काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारबिरुद्ध आज मुलुकभर प्रदर्शन गर्दैछ ।
वर्तमान सरकारले दुई तिहाइ बहुमतको दम्भमा कम्युनिष्ट अधिनायकवादी र सर्वसत्तावाद सुरु गर्न लागेको भन्दै कांग्रेसले मुलुकभरका जिल्ला सदरमुकाममा र राजधानीको रत्नपार्कमा दिउँसो एक बजे प्रदर्शन गर्दैछ ।
सरकारले प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा जनभावना विपरित काम गरेको भन्दै सरकार विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरेको थियो ।
सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल खारेज गर्ने तथा डाक्टर गोविन्द केसीसँग भएको सहमति विपरित संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै केही समयसम्म कांग्रेसले सदन अवरुद्ध पारेको थियो ।
प्रतिपक्षको विरोधपछि सरकारले पूर्वप्रधानमन्त्रीद्वयको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिसकेको छ ।
पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।