युएईविरूद्धको टी ट्वान्टी सिरिजमा नेपालको रोमान्चक जित
काठमाडौं, २० माघ । नेपाललाई फेरी अर्को ऐतिहासिक सफलता मिलेको छ । नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को रोमान्चक जित निकाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको छ । रोमाञ्चक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो ।
नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा सीमित हुनपुग्यो। आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे ।
मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन् । युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।
दुबईस्थित आइसीसी एकेडेमी ओभलमा आइतवार वर्षा भएपछि १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हिर्काएका हुन् । यस्तै ११ बल खेलेका सुनदीप जोराले ३ छक्कासहित २८ रन बनाए ।
पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए । भण्डारी १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भए ।
करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए ।
युएईका लागि मोहम्मद नाभिद र सुल्तान अहमदले २-२ विकेट लिँदा जाहुर खान, र मोहम्मद बोताले १-१ विकेट लिए ।