भ्रष्टाचार गरेको अभियोग प्रधानाध्यापकलाई मुद्दा
काठमाडौँ, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता माध्यमिक विद्यालय, सिराहाका प्रधानाध्यापक मो सनाउल्लाह खाँले रु दश लाख १८ हजार ६७० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्यालयको भवन निर्माणको कार्य प्राविधिक लगतअनुसार नगरेको, छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण नगरेको, आर्थिक वर्ष २०६७÷०६८ को पुरानो शौचालय हालसम्म पनि निर्माण नगरेको तथा निर्माण र अन्य मर्मतसम्भार जस्ता धेरै कार्यमा आर्थिक हिनामिना गरेको भन्ने उजुरीको अध्ययन गर्दा भ्रष्टाचार भएको पाइएको आयोगले जनाएको छ ।
विद्यालयको भवन निर्माणको लागि विनियोजित रकम र विद्यालयको आन्तरिक स्रोतको काम नै नगरी खर्च देखाइ निर्माण बजेट र आन्तरिक स्रोतसमेत दुरुपयोग गरेको आयोगले ठहर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । आयोगले बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ । रासस