सार्वजनिक जग्गा संरक्षण गर्न आग्रह


पोखरा, २० माघ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा बढ्दो शहरीकरणसँगै सार्वजनिक जग्गा अतिक्रमण बढेकाले संरक्षणका लागि स्थानीय सरकार सचेत हुनुपर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका वडा नं ५ स्थित पस्र्याङ उद्यानको आज यहाँ शिलान्यास गर्दै उहाँले फराकिला सडक, पार्क, बालउद्यानलगायत खाली जग्गा प्राकृतिक प्रकोपका आश्रयस्थल भएकाले वातावरणमैत्री उद्यान निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले वातावरणीय र पर्यटकीय हिसाबले महत्वपूर्ण फेवातालको संरक्षण प्रयास शुरु भएको बताउँदै एक हप्ताको अवधिमा तालको सतह १२ रोपनी बढेको जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले उद्यान निर्माणलाई प्राकृतिक तवरले पूर्णता दिइनुपर्ने बताउनुभयो । पोखरा बागलुङ राजमार्गमा पर्ने साढे आठ रोपनी सार्वजनिक जग्गामा लगभग तीन करोड रुपैयामा उक्त उद्यान निर्माण गरिने बताइएको छ । उद्यान निर्माण गर्न जिल्ला वन कार्यालय कास्कीबाट ३० लाख, वातावरण विभागबाट ५० लाख, पर्यटन मन्त्रालयबाट १० लाख र गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट रु तीन लाख प्राप्त भएको छ । बाँकी तीनै तहका सरकारबाट सहयोग लिएर आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement