खप्तड घुम्न हेलिकप्टरको व्यवस्था


डोटी, २० माघ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरेको कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने योजना बनाएका छौँ, त्यसका लागि हेलिकप्टर पनि बुक भइसकेको छ ।”

आगामी फागुन १७ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड लगायतका क्षेत्र घुम्न जाने पर्यटकका लागि हेलिकप्टर बुकिङ गरिएको बताइएको छ । नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ चेम्बर अफ कमर्शले दीपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै खप्तड पुग्ने पर्यटकको सुविधाका लागि प्राथमिक स्वास्थ्य सेवा पनि प्रदान गरिने भएको छ । त्यहाँ जाने पर्यटकलाई थप सुविधाका लागि खप्तडमा घोडचढीको व्यवस्थासमेत मिलाइने कमर्शका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस
Advertisement