नेपालद्वारा पाकिस्तान १० विकेटले पराजित, मनकेसी चौधरीले बनाइन् कीर्तिमानी अर्धशतक
काठमाडौँ, २० माघ । महिला नेत्रहीन क्रिकेटअन्तर्गत तेस्रो टी-२० खेलमा पनि नेपालले पाकिस्तानलाई १० विकेटले हराएको छ ।
पाकिस्तानमा जारी उक्त खेलमा पाकिस्तानमाथि नेपालले १० विकेटको शानदार जित निकालेको हो ।
यो जितसँगै सिरिजमा नेपालले २-० को अग्रता लिएको छ । वर्षाले दोस्रो खेल रद्ध भएको थियो ।
पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले बिना कुनै विकेटको क्षति ७.३ ओभरमा पुरा गर्यो ।
नेपालको सहज जितमा मनकेसी चौधरीले कीर्तिमानी अर्धशत प्रहार गरिन् । चौधरीले अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएकी छन् ।
चौधरीले आक्रमक ब्याटिङ गर्दै २१ बलमा १० चौकासहित नटआउट ५८ रन बनाइन् । यस्तै विनिता पुनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा ३४ रनमा अविजित रहिन् । चौधरी र पुनबीच भएको १०३ रनको साझेदारी पनि महिला नेत्रहीन क्रिकेटमा सर्वाधिक रनको कीर्तिमानी साझेदारी हो ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २ रन जोडेको थियो । उसका लागि तयावा फतिमाले सर्वाधिक २७ रन बनाउँदा सादियाले १७ रन जोडिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानले सबैभन्दा बढी ३५ रन अतिरिक्तबाटै पाएको थियो ।
पाकिस्तानलाई सस्तैमा रोङ्क्न नेपालका लागि कप्तान भगवती भट्टराईले र मुना अर्याले १-१ विकेट लिए ।
प्रतियोगितामा मन केसी प्लेयर अफ दि म्याच भइन्। यस्तै बिनिता पुन मस्ट भ्यालेएबल प्लेयर भइन् ।
दुबैलाई पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलका अध्यक्ष सहिद सुल्तान र नेपाल ब्लाइण्ड क्रिकेटका अध्यक्ष पवन घिमिरेले पुरस्कार दिए ।