महोत्सवमा ‘पुख्र्यौली घर’ दर्शकको आकर्षण


परासी, २० माघ। आधुनिक र सुविधासम्पन्न घर निर्माण हुन थालेपछि पछिल्लो समय नेपालीका परम्परा झल्किने पुख्र्याैली घरहरू लोप हुने अवस्थामा छन् ।

सानैमा शहर तथा मधेश झरेका वा त्यतै जन्मेका युवायुवती आफ्नो पुख्र्यौली घरको बनावटप्रति प्रायः अनभिज्ञ जस्तै छन् । शहरका ठूलाठूला भवनमा हुर्केका उनीहरूलाई आफ्नो पुर्खाले बिताएको घर देख्दा अनौठो लाग्छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका– १३ बडेरामा बिहीबारदेखि जारी प्रथम औद्योगिक व्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवमा भने यिनै पुख्र्याैली घर दर्शकको आकर्षण बनेका छन् । महोत्सवमा बनाइएका विभिन्न जनजातिका परम्परागत घरले दर्शकलाई लोभ्याउने गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी र उद्योग वाणिज्य सङ्घ सुनवलको संयुक्त आयोजनामा सञ्चालित उक्त महोत्सवमा नेवार, थारू, मगर, कुमाललगायत आदिवासी जनजातिहरूको परम्परागत घरहरू प्रदर्शनमा राखिएको छ ।

महोत्सव अवलोकनका लागि पुग्ने विशेषगरी युवाहरू ती घरहरूतर्फ आकर्षित हुने गरेका छन् । युवाहरू थरीथरी बनावटका घरको अवलोकन गर्न र ‘सेल्फी’ खिचाउन व्यस्त देखिन्छन् । बाउबाजेको पालाका यस्ता घर अहिलेका पुस्तालाई नौलो लाग्ने गरेको अवलोकनका लागि पुग्नुभएका भुमहीकी तारा शर्मा बताउनुहुन्छ । “हामीले तस्वीरमा देख्ने र सुन्ने गरेका परम्परागत घरहरू प्रत्यक्ष देख्न पाउँदा रमाइलो लागेको छ”, उहाँले भन्नुभयो ।

सुनवलकै दीपा श्रेष्ठ पनि महोत्सवमा बनाइएको आफ्नो समुदायको परम्परागत घर हेरेर दङ्ग पर्नुभयो । “सानैदेखि आधुनिक घरमा हुर्कियौँ, पहाडतिर नगएकाले हाम्रो समुदायको यस्तो घर हुन्छ भन्ने सुनेकी मात्र थिएँ”, उहाँले भन्नुभयो । नेपालीको मौलिकपन झल्कने परम्परागत घर, जातीय वेशभूषा, खानाका परिकारलाई महोत्सवमा उच्च प्राथमिकता दिइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष भरत क्षेत्री बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “विशेषगरी नेपालीका लोक संस्कृतिसँग जोडिएका मौलिकपन झल्कने घर, खानाका परिकार, लोकसंस्कृति, मौलिक वेशभूषाको संरक्षणका लागि हामीले महोत्सव सञ्चालन गरेका हौँ ।” महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार पनि आकर्षणको केन्द्र बनेको छ । दर्शकहरूले विभिन्न जातजातिका मौलिक खानाका परिकारको समेत स्वाद लिन पाएका छन् ।

दैनिक विभिन्न जातजातिका सांस्कृतिक नृत्यले पनि मौलिकपनको झल्को दिलाएको झाँकी तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले बताउनुहुन्छ । परम्परागत लिङ्गेपिङसमेत महोत्सवको अर्काे आकर्षण बनेको छ ।

महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रममा जनजातिले आफ्नै वेशभूषा र पहिरनमा सजिएर गायन र नृृत्य प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै महोत्सवका प्रवक्ता रमेश पराजुली भन्नुहुन्छ, “अन्य ठाउँमा लाग्ने मेलामा कलाकारबाटै उच्छृङ्खलता र अश्लीलता प्रदर्शन हुने गरेको गुनासो आइरहेका बेला हामीले यो महोत्सवमा कलाकारलाई अनिवार्य राष्ट्रिय पोशाक र आफ्नै जातीय वेशभूषामा उतारेका छौँ, तसर्थ यो व्यावसायिक महोत्सव नभई नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण र नयाँपुस्तामा हस्तान्तरणमा सहयोग पु¥याउनु हाम्रो मुख्य उद्देश्य हो ।” महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement