सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासी आन्दोलित


कञ्चनपुर, २० माघ । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छर्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयवासी उत्तरदेव भट्टले बताउनुभयो ।

दुई दिनअघिदेखि सडक कालोपत्रको माग अघि सार्दै पाँच घण्टासम्म सडकमा चक्काजाम गर्दै आएका छौँ, उहाँले भन्नुभयो, “भोलिसम्म पनि सडक स्तरोन्नतिको कार्य अगाडि नबढाइए अनिश्चितकालसम्मका लागि चक्काजाम हुन्छ ।”

सडकको अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्रसहित जानकारी दिइएको उहाँले बताउनुभयो । स्थानीयवासीले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहज रूपमा यात्रा गर्नुपरेको छ । कच्ची सडककै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न रु १५० बढी चर्को भाडा तिर्नुपरेको छ ।

हिउँदका बेला सञ्चालन हुने सडक वर्षात्का बेला हिलाम्मे हुँदा स्थानीय यात्रुले पैदलै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । सडक निर्माणकार्य एक वर्षदेखि ठप्प छ । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीका प्रतिनिधि दमनराज जोशीले बजेट अभावले सडक निर्माणकार्य अगाडि बढ्न नसकेको बताउनुभयो । सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो ।

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिइ सकेको छ ।

तीन लाख ५२ हजारको अक्षयकोष स्थापना

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा दुई समाजसेवीले रु तीन लाख ५२ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा कार्यरत वीरेन्द्रबहादुर ऐरले रु एक लाख ५१ हजार र अमेरिकामा बस्दै आउनुभएका धर्मसिंह साउदले स्वर्गीय बुबा खडकसिंह साउदको स्मृतिमा रु दुई लाख एक हजारको अक्षयकोष स्थापाना गर्नुभएको हो ।

अक्षयकोष स्थापना गर्नुहुने दुवैले आर्थिक रूपमा विपन्न, जेहेन्दार, दलित र जनजातिका बालबालिकाको पढाइमा सहजता ल्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करनसिंह ऐरले बताउनुभयो ।
अक्षयकोष स्थापना गर्ने सशस्त्र प्रहरीको नायब उपरीक्षक ऐर सोही ठाउँका स्थानीय बासिन्दा हुन् । उहाँले तलबबाट बचाएको रकम विद्यालयमा पढ्दै आएका बालबालिका लागि अक्षयकोषमार्फत उपलब्ध गराउन पाउँदा खुशी भएको बताउनुभयो । अमेरिका बस्दै आउनुभएका साउदसमेत सोही ठाउँका स्थानीय बासिन्दा हुन । विसं २०४५ मा स्थापना भएको विद्यालयमा पढ्दै आएका २९५ विद्यार्थीमध्ये ७० प्रतिशत बालबालिका दलित र जनजाति समुदायका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement