आज नेपाल र युएईबीचको टी–२० इन्टरनेसनल सिरिज क्रिकेटको अन्तिम खेल, नेपालको इतिहास रच्ने दाउ !
काठमाडौं, २० माघ । नेपाल र युएईबीचको टी २० इन्टरनेसनल सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ ।
आजको खेल नेपालको लागि महत्वपुर्ण तथा निर्णायक खेल हुनेछ ।
तीन खेलको एकदिवसीय सिरिजमा पहिलो खेल हारेर बाँकी दुई खेल जित्दै इतिहास बनाएको नेपालले टी २० मा पनि त्यस्तै इतिहासको खोजीमा रहने छ ।
यसअघिका दुई खेलमध्ये नेपाल र युएईले एक–एक जितेर सिरिज बराबरी गरेका छन् ।
टी २० मा नेपालले पहिलो खेल युएईसँग २१ रनले गुमाएको थियो । तर दोस्रो खेल नेपालले चार विकेटले जितेको थियो । बलरको उत्कृष्ट प्रदर्शन र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले खेल आफ्नो पक्षमा पारेको थियो ।
पहिलो टी २० मा सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाएपछि नेपाल जितसम्म पुग्न सकेको थिएन । जोराले टी २० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए । नेपालले यसअघि खेलेका टी २० सिरिज अहिलेसम्म जित्न सकेको छैन ।
खेल आज दिउँसो नेपाली समयअनुसार २ः४५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुनेछ ।