खानेपानीमा साबुनको फिँज र ढल आउन थालेपछि …!


काठमाडौं, २० माघ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।

उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो ।

खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ । केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ । यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ ।

काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ । घट्टेकुलो बस्तै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन् । उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन् । साँझको ४ बजेको थियो । सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन् ।

धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन् । उनले भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर । के गर्ने हो ।’ उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement